नयाँ जन्ममितिले नभई सोच, दृष्टिकोण र नेतृत्वको बदलावले हुन्छ : उपसभापति शर्मा

94
Shares

बुटवल। 

नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ  जन्म मितिले नभई सोच, दृष्टिकोण र नेतृत्वको बदलावले हुने बताए । साँच्चै  बदलिएको काँग्रेस नै नयाँ काँग्रेस भएको पनि उनको कथन रहेको छ ।
उनले बदलिएर आएको काँग्रेस पार्टी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट सबैभन्दा ठूलो र पहिलो दलको रूपमा आउने गरेका छन्। 

नेपाली काँग्रेस रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पार्टी सदस्य भेटघाट कार्यक्रममा उपसभापति शर्माले काँग्रेस फेरि ठूलो दलको रूपमा देशको नेतृत्व गर्ने गरी बहुमततर्फ अग्रसर रहेको बताए । उनले देशका विभिन्न स्थानमा पुग्दा र प्राप्त सूचना अनुसार काँग्रेस पहिलो पार्टी बन्ने पनि दावि गरे । 

कांग्रेसले धेरै निर्वाचन जितेको छ , जित्ने कुरा हाम्रा लागि नयाँ होइन, कयौँ निर्वाचन हामी हारेका छौँ, हार्ने कुरा पनि काँग्रेसको जीवनमा नयाँ होइन तर यो निर्वाचन अन्य चुनावभन्दा विशेष, गहन र गम्भीर रहेको उनले भने ।

उनले २०८४ मा हुने चुनाव २०८२ मा किन हुँदैछ ? ७४ जना आमाको काख किन जल्यो ? देशको सिंहदरबार र संसद् भवन किन जल्यो ? अरबौं–खरबौंको क्षति किन भयो ? देशमा निराशा किन आयो ? जस्ता प्रश्न उठाउँदै मतदातालाई यथार्थ बुझेर मतदान गर्न काँग्रेसले आग्रह गर्ने सुनाए ।

देशमा मन जलेको, विश्वास टुटेको र मान्छेको मन भाँचिएको अवस्था रहेको भन्दै यो बेला जेनजी विद्रोह सबै गलत भयो भन्न सकिँदैन, भदौ २३ अघि सबै ठीक थियो पनि भन्न नमिल्ने धारणा राखे  । पुराना दिन गए भन्न नमिल्ने भन्दै उनले यो धर्तीमा सबैभन्दा पुरानो कुरा धर्ती नै हो, नयाँ भनेको जन्म मितिले होइन, सोच, दृष्टिकोण र नेतृत्वको बदलावले हुन्छ । साँच्चै बदलिएको काँग्रेस नै नयाँ काँग्रेस हो ।

उपसभापति शर्माले जेनजी विद्रोहले देशमा परिवर्तन खोजेको बताउदै संसार बदल्नुछ भने आफूबाटै सुरुवात गर्नुपर्नेमा जोड दिए । 
उपसभापति शर्माले पाँच वर्ष स्थिर रहने सरकार गठनका लागि निर्वाचनअगावै राष्ट्रिय सहमतिका लागि प्रस्ताव गरेका छन्  । ‘चुनावमा प्रायः दल गठबन्धन नगरेर गएका छौँ, यो सकारात्मक कुरा हो । कांग्रेस बहुमत ल्याउने लक्ष्य लिएर अघि बढेको छ,’ उपसभापति शर्माले भने, ‘यो आफ्नो ठाउँमा छ, तर हामी चाहन्छौं– प्रधानमन्त्री पाँच वर्ष टिक्न÷टिकाउन संवैधानिक व्यवस्थानै गरौं ।

पूर्व गृहमन्त्री तथा काँग्रेसका पूर्व केन्द्रीय सदस्य बालकृष्ण खाणले आगामी फागुन २१ गते हुने निर्वाचनमा काँग्रेसको बहुमत आवश्यक रहेको बताए। उनले सबै नेता कार्यकर्तालाई एकताबद्ध भएर उम्मेदवार जिताउन आग्रह समेत गरे ।

काँग्रेस नेतृत्वको सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाएको र यसको सञ्चालन गर्ने कार्य पनि काँग्रेस नेतृत्वमै रहेको नेता खांणले दावि गरे ।
पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकले मुलुकका समस्या समाधान काँग्रेसले मात्रै गर्न सक्ने बताए । उनले उपलब्धिहरूलाई संस्थागत गर्न चुनावमा काँग्रेसको जित आवश्यक रहेको बताए ।

केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार भरत कुमार शाहले काँग्रेस बदलिएको र देश बदल्न आवश्यक रहेको बताए । उनले देशलाई भ्रष्टाचारमुक्त बनाउन जोड दिए ।

काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समिति संयोजक राजु खनालले फागुन २१ पछि काँग्रेस नेतृत्वको सरकार बनेपछि मात्रै जेनजी पुस्ताले उठाएको माग सम्बोधन हुने बताए । उनले संविधानको रक्षाका लागि काँग्रेस नेतृत्वको सरकार आवश्यक रहेको जिकिर गरे ।

कार्यक्रममा काँग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाण, पूर्व केन्द्रीय सदस्य गंगा शाही रुपन्देही १ का उम्मेदवार हिरा बहादुर खत्री, २ का उम्मेदवार चुन्नु पौडेल, ३ का उम्मेदवार शुसिल गुरुङ, ४ का उम्मेदवार आशुतोष मिश्रा , पार्टी रुपन्देहीका उपसभापति अनिता शाह, सचिव हरि काफ्ले लगायतले मन्तव्य राख्दै बदलिएको कांग्रेसलाई जिताउन र संविधान रक्षा र लोकत्रन्तको संस्थागत विकास गर्न सकिने धारणा राखेका थिए ।