साँखुमा बस दुर्घटना : २० जनाभन्दा बढी घाइते, गम्भीरलाई केएमसीमा रिफर


काठमाडौं ।

काठमाडौंतर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्। शंखरापुर नगरपालिका–३ स्थित फेदीको पुल नजिक जहरसिंपौवा यातायात प्रालिको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। सामान्य अवस्थाका घाइतेहरूलाई पिपल्स लाइफ केयर अस्पताल साँखुमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरूलाई काठमाडौं मेडिकल कलेज (केएमसी) रिफर गरिएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन। बसको अवस्था र प्राविधिक पक्षबारे अनुसन्धान भइरहेको जनाइएको छ। घटनास्थलमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य गरिएको थियो।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।