निसर्ग हस्पिटल र किसान सहकारीबीच उपचार छुट सम्झौता


काठमाडौँ
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी शेयर सदस्य रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाका शेयर सदस्यहरूले धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । शेयर सदस्यलाई स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने उद्देश्यले किसान सहकारी र निसर्ग हस्पिटलबीच मंगलबार औपचारिक सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा निसर्ग हस्पिटलका कार्यकारी अध्यक्ष तीर्थराज पन्त र किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका महाप्रबन्धक डम्बरबहादुर शाहले हस्ताक्षर गर्नुभएको छ । निजी क्षेत्रबाट सञ्चालित निसर्ग हस्पिटल सुदूरपश्चिममै स्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पताल हो ।

२०५२ सालमा स्थापना भई केन्द्रीय कार्यालय कैलालीको लम्कीमा रहेको किसान सहकारी सुदूरपश्चिमका नौ जिल्ला तथा बर्दियाको राजापुर नगरपालिकामा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ । सहकारीमा हाल ९३ हजारभन्दा बढी शेयर सदस्य रहेका छन् । सामाजिक सेवाअन्तर्गत दुवै संस्थाबीच स्वास्थ्य उपचारमा छुट उपलब्ध गराउने सहमति भएको हो ।

किसान सहकारीका विभागीय प्रमुख दीपक ढुङ्गानाका अनुसार शेयर सदस्यहरूले जनरल बेड भर्नामा १५ प्रतिशत, क्याबिन भर्नामा १० प्रतिशत, आईसीयू र एनआईसीयू बेडमा १२.५ प्रतिशत छुट पाउनेछन् । त्यस्तै, जनरल, सर्जरी, अर्थोपेडिक र गाइनोलोजी उपचारमा १० प्रतिशत, ल्याप्रोस्कोपी अपरेशनमा १० प्रतिशत, प्याथोलोजी सेवामा २० प्रतिशत तथा भिडियो एक्सरे, एक्सरे, ईसीजी, ईको, टीएमटी र इन्डोस्कोपी सेवामा १० प्रतिशत छुट उपलब्ध हुनेछ । औषधि खरिदमा पनि ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

सम्झौताअनुसार सहकारीले उपचारका लागि पठाउने बिरामी अनिवार्य रूपमा किसान सहकारीका शेयर सदस्य हुनुपर्नेछ । सो अवसरमा महाप्रबन्धक शाहले सहकारीले सदस्यलाई जन्मदेखि मृत्युसम्मका सेवा प्रदान गर्ने लक्ष्यअनुसार स्वास्थ्य उपचारलाई सहज बनाउन निसर्ग हस्पिटलसँग सम्झौता गरिएको बताउनुभयो । भविष्यमा अन्य सेवा क्षेत्रमा पनि छुट उपलब्ध गराउन थप संस्थासँग सम्झौता गर्ने योजना रहेको सहकारीले जनाएको छ।

हाल किसान सहकारीले किसान–कोप वित्तीय सेवा, किसान–कोप एग्रो सेवा र किसान–कोप मार्ट गरी तीनवटा व्यावसायिक सेवा सञ्चालन गर्दै आएको छ । संस्थाको कुल कारोबार हाल करिब ७ अर्ब २० करोड रुपियाँ पुगेको छ ।