क्रिकेटको विषय उठ्दा हरेक रेकर्ड पुरुष क्रिकेटको वरिपरि घुमेको हुन्छ । हरेकले यही पुरुष रेकर्डबारे कुरा गरिरहेका हुन्छन् । यस विषयमा आर्टिकल र न्युज पनि दोहोरिरहन्छ पनि । यसले गर्दा महिला क्रिकेट ओझेलमा परेको पनि छ । तर, रेकर्डको कुरा गर्ने हो भने महिला क्रिकेटमा पहिला रेकर्ड दर्ज भएको हो । यहाँ केही रेकर्डबारे प्रस्तुत गरिएको छ ।

वानडेमा डबल सेन्चुरी
वानडे क्रिकेटमा पहिलो डबल सेन्चुरी महिला क्रिकेटरबाटै बनेको हो । तर, धेरैजसोले सचिन तेन्दुलकरको नाम अग्रपंक्तिमा राखेका हुन्छन् । सचिनले सन् २०१० मा ग्वालियरमा डबल सेन्चुरी बनाएका थिए । योभन्दा १३ वर्षअघि सन् १९९७ मा अस्टे«लियाकी बेलिन्दा क्लार्कले अन्तर्राष्ट्रिय वानडे क्रिकेटमा डबल सेन्चुरी बनाएकी थिइन् । महिला विश्वकपअन्तर्गत् मुम्बईको एमआईजी क्लब ग्राउन्डमा बेलिन्दाले डेनमार्कविरुद्ध १५५ बलमा २२ चौकाको सहयोगमा २२९ रन बनाएकी थिइन् ।
टिमको ४ सय रन
यही खेलमै बेलिन्दाको डबल सेन्चुरीको सहयोगमा अस्टे«लियाले ५० ओभरमा ४१२ रनको रेकर्ड बनाएको थियो । अस्टे«लियाको महिला टिम वानडेमा ४ सय रन पार गर्ने पहिलो टिम बनेको थियो । यसको ९ वर्षपछि पुरुष टिमले बल्ल ४ सय रन पार गरेको थियो । दक्षिण अफ्रिका र अस्टे«लियाले सन् २००६ मा जोहानेसबर्गमा भएको एकै खेलमा ४ सय रन पार गरेका थिए ।
एक खेलमा ५ विकेट
वानडे क्रिकेटमा एक खेलमा ५ विकेट लिने रेकर्ड पनि महिला क्रिकेटरकै नाममा छ । सन् १९७३ मा महिला विश्वकपमा अस्टे«लियाकी टीन मेकफर्सनले यंग इंग्ल्यान्डविरुद्ध ५ विकेट लिएर रेकर्ड बनाएकी थिइन् । दुई वर्षपछि पुरुष विश्वकपमा अस्टे«लियाका डेनिस लिलीले ५ विकेट लिने रेकर्ड रचेका थिए ।
टेस्टमा शतक र १० विकेट
टेस्ट क्रिकेटमा एकै खेलमा १० विकेट र शतक प्रहार गर्ने रेकर्ड पनि पहिला महिला क्रिकेटरबाटै भएको थियो । जसमा, सन् १९५८ मा अस्टे«लियाकी बेट्टी विल्सनले मेलबर्न टेस्टमा इंग्ल्यान्डविरुद्ध पहिलो इनिङमा ७ र दोस्रो इनिङमा ४ गरी ११ विकेट हासिल गरेर रेकर्ड राखेकी थिइन् । उनले यसै टेस्टमा शतक पनि बनाएका थिए । यसपछि इंग्ल्यान्डका इयान बोथम र एलन डेभिडसनले एकै टेस्टमा शतक र १० विकेट लिने उपलब्धि हासिल गरेका थिए ।











प्रतिक्रिया