सरकारको लगानी सवा ९ खर्ब, फिर्ता पाउनै कठिन


काठमाडौं ।

सरकारले विभिन्न १५९ सार्वजनिक संस्थान तथा निकायमा सेयर र ऋणका रूपमा सवा ९ खर्ब रुपियाँभन्दा बढी लगानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षसम्म ९ खर्ब ३० अर्ब ८८ करोड ४ लाख ६८ हजार रुपियाँ लगानी गरेको छ । जसमध्ये कुल सेयरलगानी मात्रै ११६ संस्थानमा ४ खर्ब ४ अर्ब ८१ करोड ४१ लाख ५८ हजार रुपियाँ पुगेको छ । तर, सरकारको यस ठूलो लगानीको प्रतिफल भने निकै कमजोर देखिएको छ ।


ऋण तथा सेयर लगानी पाएका संस्थानहरूले समयमा सावाँ–ब्याज भुक्तानी नगर्दा सरकारको दायित्व लगातार बढ्दै गएको उल्लेख छ । आर्थिक वर्ष २०८१÷८२ सम्ममा मात्र २ खर्ब ५९ अर्ब १९ करोड ९७ लाख ३ हजार १२६ रुपियाँ भाका नाघेको सावाँ र १ खर्ब ४० अर्ब ८८ करोड २३ लाख ९६ हजार १६९ रुपियाँ भाका नाघेको ब्याज रहेको छ । कुल भाका नाघेको रकम ४ खर्ब ८ अर्ब २० लाख ९९ हजार २९५ रुपियाँ पुगेको कार्यालयले जनाएको छ । भाका नाघेको सावाँ–ब्याज सर्वाधिक रहेका संस्थानमा नेपाल विद्युत्् प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल खानेपानी संस्थान तथा नेपाल नागरिक उड्डयन प्राधिकरण प्रमुख रूपमा रहेका छन् ।

सरकारले गत आर्थिक वर्षसम्म ५७ प्रतिशत ऋण लगानी र ४३ प्रतिशत सेयरलगानी गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को तुलनामा आर्थिक वर्ष २०८१÷८२ मा सेयर लगानीको अंश ४५ प्रतिशतबाट घटेर ४३ प्रतिशत तथा ऋण लगानी ५५ प्रतिशतबाट बढेर ५७ प्रतिशतमा पुगेको छ ।

सेयर लगानीका दृष्टिले नेपाल विद्युत्् प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंक शीर्ष स्थानमा रहेका छन् । गत आर्थिक वर्षसम्म सरकारको कुल ऋण लगानी ५ खर्ब २६ अर्ब ६ करोड ६३ लाख १० हजार रुपियाँ पुगेको छ । यसमध्ये १ खर्ब ५८ अर्ब १८ करोड २१ लाख ८४ हजार रुपियाँ आन्तरिक स्रोतबाट र ३ खर्ब ६७ अर्ब ८८ करोड ४१ लाख २६ हजार रुपियाँ वैदेशिक स्रोतबाट लगानी गरिएको छ । ऋण लगानीका हिसाबले नेपाल विद्युत्् प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल खानेपानी संस्थान प्रमुख रहेका छन् ।

गत आर्थिक वर्षमा सरकारले २ अर्ब ६२ करोड २९ लाख ९४ हजार ६९५ रुपियाँ सावाँ फिर्ता पाएको छ भने ५ अर्ब २९ करोड ४ लाख ३० हजार ३५६ रुपियाँ ब्याज असुली गरेको छ । सो वर्षमा मात्र सेयरमा ५ अर्ब ५२ करोड ६ लाख ३४ हजार ५४९ रुपियाँ र ऋणमा ३५ अर्ब ९५ करोड ९७ लाख ८७ हजार ६९८ रुपियाँ थप लगानी गरी कुल ४१ अर्ब ४८ करोड ४ लाख २२ हजार २४७ रुपियाँ लगानी गरिएको ‘नेपाल सरकारको सेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन’ ले जनाएको छ । सरकारले सार्वजनिक संस्थान तथा सार्वजनिक–निजी साझेदारीमा स्थापित प्रतिष्ठानहरूमा सेयर तथा ऋण लगानी गर्दै आएको छ ।