विश्व सैन्य इतिहासमा गोर्खाली सैनिकको पराक्रमलाई लिएर बोलिने भनाइहरूले उनीहरूको अदम्य साहसलाई प्रमाणित गर्छन् । भारतका फिल्ड मार्शल साम मानेकशले भनेका थिए, “यदि कुनै व्यक्तिले मलाई मर्नुसँग डर लाग्दैन भन्छ भने, कि त उ झूटो बोलिरहेको छ वा उ गोर्खा हो ।” दोस्रो विश्वयुद्धताका नाजी जर्मनीका तानाशाह हिटलरले समेत “यदि मसँग गोर्खाहरू हुन्थे भने म सारा संसार जित्न सक्थेँ” भनी गोर्खा सैनिकको निडरता स्वीकार गरेका थिए । पहाडको कष्टकर जीवनले जन्माएका यी निडर योद्धाको वफादारी, पराक्रम र सीपमाथि कहिल्यै प्रश्न उठेको छैन । नेपालीहरूको लागि यो गौरवको विषय हो कि बेलायती सरकारले कर्तव्य पालनाको क्रममा चरम बहादुरी र निस्वार्थता प्रदर्शन गर्ने सैनिकहरूलाई दिने विश्वको सर्वोच्च सैन्य सम्मान भिक्टोरिया क्रस (भिसी) हालसम्म गोर्खा रेजिमेन्टका १३ जना नेपाली गोर्खा सैनिकहरूले प्राप्त गरेका छन् । ‘लन्डन ग्याजेट’ मा उल्लेखित तिनै १३ जना वीर गोर्खा भिसी विजेताहरूको गाथा यहाँ प्रस्तुत छ ।

राइफलम्यान कुलवीर थापा (प्रथम विश्वयुद्ध)
तेस्रो गोर्खा राइफल्स, फ्रान्स – (२५÷२६ सेप्टेम्बर १९१५)
प्रथम विश्वयुद्धको बेला फ्रान्समा जर्मन बंकरमाथि गरिएको कारबाहीमा राइफलम्यान कुलवीर थापा आफैँ गम्भीर घाइते थिए । तर, उनले जर्मन बंकर पछाडि रहेका दोस्रो लेसेस्टरशायर रेजिमेन्टका एक गम्भीर घाइते ब्रिटिश सिपाहीलाई उद्धार गरेका थिए । दिनरात युद्ध चलिरहेको अवस्थामा बिहानीको कुहिरो लागेको मौका छोपी उनले ब्रिटिश सिपाहीलाई जर्मन तारको बारबाट बाहिर निकालेर सुरक्षित स्थानमा पु¥याएका थिए । तर, उनी यतिमै रोकिएन । उनी फर्किएर एकपछि अर्को गरी दुईजना घाइते गोर्खालाई पनि सुरक्षित स्थानमा ल्याएका थिए । त्यसक्रममा उनलाई गोली लागे पनि परवाह नगरी ज्यानको बाजी राखेर आफ्नो सेनाको उद्धार गरेका थिए ।

सुबेदार लालबहादुर थापा
दोस्रो गोर्खा राइफल्स, ट्युनिसिया – (५÷६ अप्रिल १९४३)
रास–एज–जुआईमा गरिएको आक्रमणमा सुबेदार लालबहादुर थापाले आफ्नो टुकडीको नेतृत्व गरेका थिए । शत्रुको पोस्टका सिपाहीहरूलाई खुकुरी र बायोनेटले मारेर खनिएका बंकरको साँघुरो बाटो भएर अगाडि बढ्ने क्रममा शत्रुले जोडदार मेसिन–गन फायरिंग सुरु गरेपछि थापाले बिना कुनै डर, त्रास र हिचकिचाहट सामना गरेका थिए । निरन्तर बर्सिरहेको गोलीकाबीच पनि उनले आफ्नो टुकडीलाई अगाडि बढाउँदै मेसिन–गन पोस्टहरूमा पुगे । त्यहाँ उनी एक्लैले शत्रुका चार जना सिपाहीलाई मारेका थिए । दुई जनालाई खुकुरीले र दुई जनालाई रिभल्भरले । पोस्ट नियन्त्रण गर्ने क्रममा उनले थप दुईजना शत्रुलाई खुकुरीले मारेपछि बाँकी भागे ।

हवल्दार गजे घले
पाँचौँ गोर्खा राइफल्स, बर्मा – (२७ मे १९४३)
शत्रुको गढमाथि आक्रमणको तयारी गर्दा हवल्दार गजे घलेको प्लाटुनमा मोर्टार फायर भएपछि ग्रिनेडको छर्राले उनको हात, छाती र खुट्टामा लागेपछि उनी गम्भीर घाइते भए थिए । तर, उनले आफूलाई लागेको घाउहरूको कुनै वास्ता नै गरेनन् । आफ्नो प्लाटुनका सैनिकहरुलाई एकजुट गर्दै रगतले लतपतिएको अवस्थामा पनि उनले ह्यान्ड ग्रिनेडहरू प्रहार गरे । हरेक आक्रमणमा उनले “आयो गोर्खाली” को युद्ध–शंखघोष गर्दै प्लाटुनलाई हौसला दिए । उनको निडर साहसिलो र उत्कृष्ट नेतृत्वले प्लाटुनलाई पहाड कब्जा गर्न प्रेरित ग¥यो, जसले जापानीहरूलाई ठूलो क्षति पु¥यायो ।

राइफलम्यान तुलबहादुर पुन
छैटौँ गोर्खा राइफल्स, बर्मा – (२३ जून १९४४)
जब उनको टोलीका कमान्डर र ब्रेन् गनर मारिए, राइफलम्यान तुलबहादुर पुनले ब्रेन् गन सम्हाल्दै अन्धाधुन्ध फायरिंगको वास्ता नगरी एक्लै शत्रुको बंकरमा पुगे । खुट्टा गड्ने हिलोको समेत परवाह नगरी झन्डै ३० गज दौडिएर शत्रुको शेल्टर रेड हाउसमा पुगेर तीन जना जापानीलाई मारे अनि दुई लाइट मेसिन–गन कब्जामा लिए । त्यतिमात्र होइन, त्यही बंकरबाट उनले दिएको कभर फायरले बाँकी प्लाटुनलाई आफ्नो लक्ष्यमा पुग्न ठूलो मद्दत पु¥यायो ।

नायक आगमसिंह राई
पाँचौँ गोर्खा राइफल्स, बर्मा – (२६ जून १९४४)
‘मोर्टार ब्लफ’ स्थानको जंगलमा ०.३७ मिलिमिटरको बन्दूकबाट तीव्र फायर भइरहेको थियो । नायक आगमसिंह राईले तुरुन्तै बन्दूक भएको दिशातिर जान अग्रसरता देखाए । उक्त तीव्र फायरमा उनको सेक्सनका सेना घटेर तीन जनामा झर्दासम्म पनि उनी रोकिएनन र अगाडि बढेर शत्रुपक्षका तीन जनालाई मारे । त्यसपछि ‘वाटर पिकेट’ मा अन्तिम आक्रमणको क्रममा, भारी मेसिन–गन फायर र ग्रिनेडले फेरि क्षति पु¥यायो । अदम्य साहसका साथ राई, ब्रेन् गनरको कभरमा एक हातमा ग्रिनेड र अर्को हातमा थोम्पसन सब–मेसिन गन लिएर एक्लै अगाडि बढे । उनी शत्रुको बंकरमा पुगे र ग्रिनेड र गनको फायरिङले शत्रुको बंकरमा रहेका चार जनालाई मारेर सफलता हासिल गरे ।

राइफलम्यान गन्जु लामा एमएम
सातौँ गोर्खा राइफल्स, बर्मा – (१२ जून १९४४)
शत्रुको मेसिन–गन फायरले ‘बी’ कम्पनीको प्रत्याक्रमणलाई रोक्न पीआईएटी बन्दूकका नम्बर १ राइफलम्यान गन्जु लामा एक्लैले ट्याङ्कहरूसँग भिड्ने निर्णय गरे । तीव्र क्रस फायरका कारण उनको बायाँ नाडी भाँचिएको र दाहिने हात र खुट्टामा चोट लागेको थियो । गम्भीर चोटका बावजुद उनले आफ्नो बन्दुकलाई शत्रुको ट्याङ्कबाट तीस गज भित्र सञ्चालन गर्न सफल भए र दुईवटा ट्याङ्क ध्वस्त पारे । त्यसपछि, उनले भाग्न खोज्ने ट्याङ्क चालक दलका सदस्यहरूलाई ग्रिनेड प्रहार गरी मारेर कम्पनीलाई अगाडि बढाए ।
राइफलम्यान थमन गुरुङ
पाँचौँ गोर्खा राइफल्स, इटाली – (१० नोभेम्बर १९४४)
नजिक पुगेको भनकसम्म नहुने गरी शत्रुको बंकरमा पुगेका राइफलम्यान थमन गुरुङले गोली समेत नचलाई आत्मसमर्पण गर्न लगाएका थिए । त्यसपछि जब पछि हट्न उनलाई आदेश आयो तब थमनले एक्लै स्काइलाइन पार गरेर आफ्नो टोमी गनको गोलाबारूद नसकिएसम्म फायर गरेर कभर दिए । दुईपटक ग्रिनेड फ्याँक्दै तेस्रो पटक ब्रेन् गन समातेर स्काइलाइनतर्फ दौडिएका उनले शत्रुको दुईवटा म्यागजिन रित्याए । त्यसक्रममा उनले आफ्ना साथीहरूलाई सुरक्षित बनाए । त्यसै क्रममा घाँटीमा गोली लागेर उनी ढले ।

राइफलम्यान भानभक्ता गुरुङ
दोस्रो गोर्खा राइफल्स, बर्मा – (५ मार्च १९४५)
राइफलम्यान भानभक्ता गुरुङले आदेशको प्रतीक्षा नगरी पहिलो फक्सहोलमा आक्रमण गर्न एक्लै दौडिए । दुई ग्रिनेडले दुई शत्रुलाई मारेपछि उनले थप तीनवटा फक्सहोलमा एक्लैले बायोनेट र ग्रिनेडले शत्रुको सफाया गरे । त्यसैक्रममा एउटा लाइट मेसिन गनले उनको बाटो रोक्न खोज्दै गर्दा विचलित नभई अन्धाधुन्ध फायरको बीचबाट एक्लै अगाडि बढे । आफूसँग रहेको ह्यान्ड ग्रिनेड सकिएपनि बंकरको छतमाथि उफ्रिएर उनले दुईवटा धुवाँ ग्रिनेड भित्र फ्याँके । धुवाँले असहज भएर बाहिर निस्केका दुई जापानीलाई उनले खुकुरीले काटे । भित्र बाँकी रहेका गनरलाई पनि मारेर उनले बन्दुक कब्जा गर्दै प्लाटुनको बाटो खुलाए ।

राइफलम्यान लछीमन गुरुङ
आठौँ गोर्खा राइफल्स, बर्मा – (१२÷१३ मे १९४५)
रातको आक्रमणको क्रममा एकपछि अर्को गरी तीनवटा जापानी ग्रिनेड राइफलम्यान लछीमन गुरुङ बसेको बंकरमा खसेको थियो । पहिलो दुईवटालाई उनले समातेर शत्रु भएतिरै फ्याँकेर फर्काए । तेस्रो ग्रिनेड फर्काउन खोज्दा उनको हातमा विस्फोट भयो, जसले गर्दा दाहिने हातमा र शरीरमा गम्भीर चोट लाग्यो । त्यस्तो अवस्थामा पनि घाउको कुनै वास्तै नगरी आफ्ना दुई घाइते साथीहरूसँग मिलेर बायाँ हातले राइफल लोड गर्दै फायर गरे । चार घण्टासम्म उनले निरन्तर फायर गर्दै शत्रुको आक्रमणलाई निस्तेज पारे । उनले भनेका थिए, “यदि हामीले उनीहरूलाई मारेनौं भने उनीहरूले हामीलाई मार्ने थिए ।”

लान्स कर्पोरल रामबहादुर लिम्बू
दशौँ गोर्खा राइफल्स, बोर्नियो – (२१ नोभेम्बर १९६५)
शत्रुको भारी फायरको बीचमा लान्स कर्पोरल रामबहादुर लिम्बू आफ्नो साथीको उद्धारको लागि अगाडि दौडिए । उनले घाइतेमध्ये एक जनालाई उठाए र सुरक्षित ठाउँमा पु¥याए । त्यसपछि बाँकी घाइतेलाई बचाउने आफ्नो जिम्मेवारी पूरा गर्न उनी फेरि पहाडको टुप्पोमा फर्किए । शत्रुले उद्धारको प्रयास रोक्न फायरको मात्रा बढाए पनि रामबहादुर लिम्बू रोकिएनन । तीव्र र सटीक स्वचालित फायर हुँदा पनि उनी दौडि नै रहे अनि घाइते मानिससम्म पुगे । शत्रुको गोलीको वर्षाको बीचबाट उनी आफ्ना घाइते साथीलाई बोकेर सुरक्षित स्थानमा फर्किए । उनले गरेको त्यो कार्यलाई चमत्कारिक र अविश्वश्नीय मानिन्छ ।

राइफलम्यान करनबहादुर राना
तेस्रो गोर्खा राइफल्स, प्यालेस्टाइन – (१० अप्रिल १९१८)
आक्रमणको क्रममा शत्रुको मेसिन गनले ठूलो क्षति पु¥याइरहेको थियो । राइफलम्यान करनबहादुर राना लेविस गन लिएर तीव्र फायरको बीचबाट घिस्रिएर अगाडि बढ्न सफल भए । लेविस गन चलाउनेलाई गोली लाग्ने बित्तिकै उनले मृत व्यक्तिलाई बन्दूकबाट पन्छाए र कुनै हिचकिचाहट बिना फायर खोले । बमहरू र दुवै छेउबाट भारी फायरको बावजुद उनले मेसिन–गन टोलीलाई र बमवर्षकहरूलाई ध्वस्त पारे ।

सुबेदार नेत्रबहादुर थापा
पाँचौँ गोर्खा राइफल्स, बर्मा – (२५÷२६ जून १९४४)
‘मोर्टार ब्लफ’ नामक महत्वपूर्ण स्थानको कमान्ड सम्हालेका सुबेदार नेत्रबहादुर थापामाथि कम्तीमा एक कम्पनी जापानीहरूले भीषण आक्रमण गरेका थिए । जापानीहरूले ७५ मि.मि. र ३७ मि.मि. बन्दूकले करीब १० मिनेटसम्म गोलाबारी गरेपनि सुबेदार थापाको टुकडीले आफ्नो स्थानमा अडिग रही जवाफी कारवाही ग¥यो । जहाँ शत्रुपक्ष ठूलो क्षतिसहित पछि हट्न बाध्य भयो । केहि समयपछि शत्रुले फेरि आक्रमण ग¥यो र उनको सेक्सनका १२ जना मारिए र धेरै घाइते भए । थापाले भने ग्रिनेडको सहायताले शत्रुलाई रोके । गोलाबारूद लिएर आएका आठ जनाको टोली पनि घाइते भएपछि उनी आफैले गोलाबारूद लिएर अगाडि बढे । त्यही क्रममा उनको मुखमा गोली लाग्यो र त्यसको केही समयपछि ग्रिनेड प्रहारमा परी वीरगति प्राप्त गरे । भोलिपल्ट उनको शरीर फेला पर्दा हातमा खुकुरी र छेउमा टाउको काटिएको मृत जापानी सैनिकसँगै फेला प¥यो ।

राइफलम्यान शेरबहादुर थापा
नवौँ गोर्खा राइफल्स, इटाली – (१८÷१९ सेप्टेम्बर १९४४)
शत्रुको तीव्र फायरिंगको बीचमा राइफलम्यान शेरबहादुर थापा र उनको सेक्सन कमान्डरले शत्रु पोस्टमाथि आक्रमण गरेका थिए । कमान्डर घाइते भएपछि शेरबहादुरले तीव्र फायरको बावजुद एक्लै शत्रुको बंकरमा पुगेर ब्रेन् गन नियन्त्रणमा लिएर चलाए । उनको तीव्र र सटीक फायरले शत्रुका धेरै मेसिन गन ध्वस्त पारे । करिब दुई घण्टाको फायरिंगपछि गोलाबारूद सकियो । त्यसपछि त्यहाँबाट हट्न आदेश आएपछि उनले आफ्ना साथीहरूको पछि हट्ने कार्यलाई सुरक्षित गर्न कभर फायर गर्दै आफूसँग भएका गोलाबारूद नसकिएसम्म एक्लै आफ्नो पोस्टमा डटिरहे । गोलाबारूद सकिएपछि उनी अगाडि दौडिए र दुई घाइते साथीहरूलाई उद्धार गरे । दोस्रो पटक फर्कने क्रममा उनलाई नजिकको दूरीबाट चलाइएको मेसिन गनको गोली लाग्यो र उनी ढले ।











प्रतिक्रिया