सुकुम्वासी बस्तीमा पुगेर प्रसाईंले भने-  तपाईंको घर भत्काउन आए भने बालेनको घर भत्काउन  जानुस्


काठमाडौँ।

 मंसिर ७ गते आन्दोलनको घोषणा गरेका मातृभूमि बचाउ अभियानका प्रमुख दुर्गा प्रसाईले सुकुम्वासी बस्ती भत्काउन काठमाडौं महानगरका मेयर बालेन शाहको प्रयास सफल हुन नदिने बताएका छन् ।

आइतबार बिहान मनोहराको सुकुम्वासी बस्तीमा कोणसभा गर्दै प्रसाईले बालेन र राजु पाण्डेविरुद्ध लड्न आफूले सहयोग गर्ने बताए । उनले बालेनमाथि विभिन्न आरोप लगाउँदै सुकुम्वासी बस्तीमा महानगरको डोजर आउनुभन्दा पहिले बालेनको घरमा पुगेर श्रीमती र परिवारलाई बाहिर निकाल्न आग्रह गरे  ।

उनले भने, ‘घर जलाउन र मान्छे निकाल्न उनीहरुले सिकाएका हुन् । तपाईंहरुकोमा भत्काउन आयो भने तपाईंहरु हुरुरु उसको घरतिर जानुस् । श्रीमतीलाई बाहिर निकाल्नुस् । तपाईंहरुको बच्चालाई निकाल्छ भने उसको बच्चामात्रै बच्चा हो ? उसको पनि भत्काउने हो । यो सरकारी जमिन बालेनको बाउको होइन र राजु पाण्डेको बाउको पनि होइन । जसले लछारपछार गर्छ उसको स्वास्नीलाई पनि लछारपछार गर्नुस् ।‘

 सुकुम्वासी बस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदैछ । अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने महानगरको योजना छ ।