२०८१ सालमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शन

188
Shares

फुटबल
चैतमा एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भयो । त्यसअघि नेपालले सिंगापुरविरुद्ध १–० गोल अन्तरको ऐतिहासिक जित आत्मसात गरेको थियो । फागुनमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षका रूपमा अस्ट्रेलिया प्रशिक्षक म्याट रोसलाई नियुक्त गरियो ।

फागुनमा दशरथ रंगशाला भएको फोर नेसन्स इन्टरनेसनल ओमेन्स च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग २–० गोलअन्तरले पराजित हुंदै उपविजेतामा सिमित बन्यो । फागुनमै भएको केपी ओली कप फुटबल प्रतियोगिताका दौरान विश्वकप विजेता इटालीका महान पूर्व कप्तान एवम् गोलकिपर ज्यानलुइजी बुफोन नेपाल आएका थिए । फागुनमा भएको मैत्रीपूर्ण खेलमा चीनको युनान टिमले नेपालको युवा टिमलाई २–० ले हराएको थियो । तीन वर्षपछि सहिद स्मारक ‘बी’ डिभिजन लिग भयो ।
माघमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपबाट व्यवसायिक फुटबलमा डेब्यू गरे ।

उनले ग्रिसको निस अट्रोमिटौबाट डेब्यू गरेकी हुन् । मंसिरमा ताजकिस्तानमा भएको थ्री नेसन्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली टोलीले दुईमध्ये एक खेलमा जित र अर्कोमा हार बेहोरे । कार्तिकमा बंगलादेशले घरेलु टोली नेपाललाई २–१ ले हराउँदै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्यो । असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै गर्दा पहिरोमा परी एन्फा एकेडेमीका दिवस बानियाँ, प्रियंस आचार्य, अनुपम घलान, साइमन योन्जन, विकल रेग्मी र आदित्य बलम्पाखीको मृत्यु भएको थियो । असोजमै राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर लाकेन लिम्बु आई ( इन्डियन ) लिग टोली दिल्ली एफसीमा आबद्ध भए ।

भदौमा घरेलु टोली नेपाललाई ४–१ ले स्तब्ध पार्दै बंगलादेशले साफ यू२० च्याम्पियनसिपको उपाधि उचाल्यो । भदौमा नेपालको चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै भुटानको पारो एफसी एएफसी च्यालेन्ज लिग समूह चरणका लागि छनोट भयो । उक्त छनोट खेल्न जापानी स्टार केसुके होन्डा दशरथ रंगशालामा आएका थिए । भदौमा नै नेपाली प्रशिक्षक मनीष तिम्सिना इन्डियन सुपर लिग (आइएसएल) टोली पन्जाब फुटबल क्लबको गोलकिपर प्रशिक्षक नियुक्त भएका थिए । भदौमा राष्ट्रिय फुटबल टोली तथा नेपाल पुलिस क्लबकी फरवार्ड रेखा पौडेलले व्यावसायिक फुटबलका लागि संयुक्त अरब इमिरेट्स (यएई) को अबु धाबी काउन्टी क्लबसँग सम्झौता गरेकी थिईन । जेठमा इंग्ल्यान्ड भ्रमणमा नेपाली राष्ट्रिय फुटबल टोली इंग्ल्यान्ड ‘सी’ ब्रिटिश आर्मी टोलीसँग पराजित भएको थियो ।
क्रिकेट

जेठ–असारमा आईसीसी टी २० विश्वकपमा नेपाल नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएको थियो । साउनमा नेपालले एसीसी महिला एसिया कपको इतिहासमा पहिलो जित हासिल ग¥यो । नेपालले यूएईमाथि ६ विकेटको जित दर्ता गरेको थियो । कार्तिकमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपालले आईसीसी यु १९ महिला विश्व कपका लागि छनोट भएको थियो । पुसमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको थियो ।
भलिबल
असोजमा श्रीलंकामा भएको काभा यु २० भलिबल च्याम्पियनसिपमा उज्वेकिस्तानसँग २५–२७,२५–१०,२५–२५–२० ले हारेपछि नेपाल दोस्रो बन्यो । असोजमा नेपाल पुलिस क्लबले माल्दिभ्समा भएको काभा महिला क्लब च्याम्पियनसिपमा उज्वेकिस्तानको हुमो भिसीलाई ३–० को सोझो सेटमा हराउँदै च्याम्पियन बन्यो । भदौमा भारतसँग पराजित भएपछि नेपाली टोली काभा महिला भलिबल नेसन्स लिगको उपविजेता बन्यो । भूटानमा भएको काभा बिच भलिबल च्याम्पियनसिपको महिलातर्फ नेपालकी कमाल पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानलाई २–० को सोझो सेटमा हराउँदै च्याम्पियन बन्यो । त्यस्तै, पुरुष राष्ट्रिय जोडीले भने दोस्रो स्थान हासिल गरे । साउनमा नेपाली महिला युवा टोलीले माल्दिभ्समा भएको काभा यु २० महिला भलिबल च्याम्पियनसिपमा माल्दिभ्सलाई ३–० ले हराएर तेस्रो स्थान हासिल गरे ।
मार्सल आर्ट्स
भियतनाममा भएको एसियन पुलिस तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्ण, १ रजत र ३ कास्य पदक ८ पदक जितेका थिए । जसमा निशा दर्नाल र जितबहादुर बोटले दोहोरो स्वर्ण पदक जितेका थिए । भदौमा पलेशा गोवर्धनले नेपाललाई पेरिस पारालिम्पिक्समा ऐतिहासिक पहिलो पदक दिलाउन सफल भइन । भदौमा मकाउमा आयोजना भएको ग्रेटर बे कप अन्तर्राष्ट्रिय तेक्वान्दो सिरिजमा नेपालका असिम श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिए । चैतमा अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालबाट गएका सबै ५ खेलाडीले पदक जित्न सफल भए । चैतमा एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गरुङलाई ‘हिमालयन वारियर’ उपनाम दिइयो । फागुनमा एरिका गुरुङ के वान युथ लिगको ६८ केजी माथिको तौल समूहमा दोस्रो भइन । भदौमा एरिका गुरूङले २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितिन । साउनमा नेपाली कराते टोली भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा ३१ स्वर्ण, २० रजत र ११ कास्य पदक गरि कुल ६२ पदक सहित नेपाली टोली टिम च्याम्पियन बन्यो ।

कार्तिकमा नेपालका स्वस्तिका तिरुवा र नोर्बुथेन्डुप शेर्पाले आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा स्वर्ण पदक जिते । पाँच खेलाडीले सहभागिता जनाएकोमा स्वस्तिका र नोर्बुसहित नेपालका चार खेलाडीले पदक जितेका थिए । असोजमा जापानको योकाहा सहरमा भएको तेस्रो विश्वकपको मेन्स जान्सुमा ९.६३६ अंक प्राप्त गर्दै विजय सिन्जालीले नेपालका लागि ऐतिहासिक कांश्य पदक जिते । नेपालका भूपेन्द्र गुरुङले छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आट्र्स च्याम्पियनसिपमा समान एक–एक स्वर्ण र रजत गरी २ पदक जितेका थिए । असोजमा आईसीओ वल्र्ड कम्ब्याट मार्सल आट्र्स च्याम्पियन्सिपमा नेपाली खेलाडीले २ स्वर्ण र १ कांस्य गरी ३ पदक जितेका थिए । जर्मनीको फ्रेङफर्टमा भएको प्रतियोगितामा निराजन मुक्तानले दोहोरो स्वर्ण जित्दा इजिकेल परियारले कांस्य जितेका थिए । कार्तिकमा नेपालका कमल मगरले अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनामा २ स्वर्णसहित १ रजत पदक जितेका थिए ।
नेट गेम्स
टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठले असारमा अष्ट्रेलियामा मेलवर्न मेट्रोपोलिटियन ओपन च्याम्पियनसिपको उपाधि जितेका थिए । पुसमा भएको नेपाल इन्टरनेसनल च्यालेन्ज ब्याटमिन्टन प्रतियोगिता नेपालका लागि मिक्स युगलतर्फको सेमिफाइनलमा प्रिन्स दाहाल र रसिला महर्जनको जोडीले कांस्य पदक जितेका थिए ।
गल्फ
पुसमा सदभाव आचार्यले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदक जितेका थिए । सोही प्रतियोगिताको टिम इभेन्टमा सदभाव आचार्य र राहुल विकेको जोडीले नेपाललाई स्वर्ण पदक दिलाएका थिए । मंसिरमा सदभाव आचार्यले २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु–२१ तर्फको उपाधि जितेका थिए ।
बास्केटबल
नेपाली बास्केटबल टोलीले चीनको युनानमा बैशाख १२ देखि १८ गतेसम्म भएको बोर्डर सिङफु भिलेज स्पोट्र्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि जितेको थियो ।
एथ्लेटिक्स
चैतमा प्रभा आङ्देम्बे भारतको नयाँदिल्लीमा भएको विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा रजत पदक जित्न सफल भईन । पुसमा बंगलादेशको ढाकामा भएको छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालले १ स्वर्ण, २ रजत र ३ कांस्य पदक जितेको थियो । माघमा नेपाली ट्रेल रनर सुनमाया बुढाले कोर्स रेकर्ड बनाउँदै हङकङ १०० को उपाधि जितेकी थिईन । बैसाखमा नेपाली धाविका सुनमाया बूढा ट्रान्सभुल्कानिया अल्ट्रा म्याराथनमा तेस्रो भईन ।