काठमाडौं ।
अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनको प्रचारप्रसारमा इतिहासकै सबैभन्दा बढी रकम खर्च हुने अनुमान गरिएको छ। चुनावी अभियानको वित्तपोषण निगरानी गर्ने स्वतन्त्र संस्था ‘ओपन सेक्रेट्स’ का अनुसार यसपटक अमेरिकी मध्यावधि निर्वाचनमा कुल खर्च करिब ११.९ अर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। यो रकम अघिल्लो मध्यावधि निर्वाचनको तुलनामा करिब ३० प्रतिशत बढी हो। निर्वाचनमा उम्मेदवार, राजनीतिक दल तथा बाह्य राजनीतिक समूहहरूले गर्ने खर्च तीव्र रूपमा बढेपछि अमेरिकी चुनावी इतिहासमै नयाँ रेकर्ड कायम हुने देखिएको हो। बीबीसी भेरिफाइको विश्लेषणअनुसार चुनावी खर्च बढ्नुको प्रमुख कारण ‘सुपर पोलिटिकल एक्सन कमिटी’ (सुपर प्याक) मार्फत अर्बपति व्यवसायी, ठूला कर्पोरेट घराना तथा विभिन्न राजनीतिक समूहहरूले खन्याएको ठूलो धनराशि हो।
अमेरिकी सङ्घीय निर्वाचन आयोग (एफईसी) को अक्टोबर मध्यसम्मको विवरणअनुसार यस निर्वाचनमा ९.५ अर्ब डलरभन्दा बढी खर्च भइसकेको छ। त्यसमध्ये राजनीतिक एक्सन कमिटी (प्याक) र सुपर प्याकको हिस्सा मात्रै करिब ५.५ अर्ब डलर रहेको छ। पछिल्ला दुई महिनामा यी समूहहरूको खर्च झन्डै दोब्बर भएको तथ्यांकले देखाउँछ। अमेरिकी निर्वाचन प्रणालीमा उम्मेदवारलाई प्रत्यक्ष चन्दा दिने रकममा कानुनी सीमा रहे पनि सुपर प्याकले व्यक्ति, कम्पनी, श्रमिक सङ्गठन तथा अन्य राजनीतिक समितिबाट असीमित रकम सङ्कलन गर्न सक्छन्। उनीहरूले उम्मेदवारलाई सीधै रकम दिन नपाए पनि विज्ञापन, प्रचारप्रसार तथा अन्य गतिविधिमार्फत आफ्नो पक्षका उम्मेदवारलाई समर्थन गर्न ठूलो रकम खर्च गर्न पाउँछन्।
मस्क सबैभन्दा ठूलो व्यक्तिगत दाता यसपटकको अमेरिकी मध्यावधि निर्वाचनमा सबैभन्दा बढी व्यक्तिगत रकम खर्च गर्ने दाताका रूपमा अर्बपति व्यवसायी इलन मस्क देखिएका छन्। उनले विशेषगरी रिपब्लिकन उम्मेदवारहरूलाई समर्थन गर्न करिब ५० करोड अमेरिकी डलर खर्च गरेको विवरण सार्वजनिक भएको छ। मस्कले आफ्नो अधिकांश रकम सन् २०२४ मा स्थापना गरेको ‘अमेरिका प्याक’ र रिपब्लिकन पक्षधर ‘सेनेट लिडरसिप फन्ड’ मार्फत परिचालन गरेका छन्। उनको आर्थिक सहयोगको ठूलो हिस्सा टेक्सासको सिनेट निर्वाचनमा केन्द्रित छ। त्यहाँ डेमोक्रेटिक उम्मेदवार जेम्स टालारिकोविरुद्ध प्रतिस्पर्धा गरिरहेका रिपब्लिकन उम्मेदवार केन पाक्सटनलाई समर्थन गर्न अमेरिका प्याकले मात्रै ४ करोड ५० लाख डलरभन्दा बढी खर्च गरेको छ।
त्यस्तै, मिसिगन र ओहायोका सिनेट निर्वाचनमा पनि अमेरिका प्याकले करिब एक–एक करोड डलर लगानी गरेको विवरण छ। मस्कको ठूलो आर्थिक लगानीले अमेरिकी निर्वाचनमा अर्बपति व्यवसायीहरूको प्रभाव कति शक्तिशाली बन्दै गएको छ भन्ने देखाएको छ। डेमोक्रेटिक र रिपब्लिकन पक्षमा अर्बपतिको प्रतिस्पर्धा निर्वाचनमा रिपब्लिकन पक्षमा मात्रै नभई डेमोक्रेटिक उम्मेदवारहरूलाई समर्थन गर्ने धनी दाताहरूले पनि ठूलो रकम खर्च गरेका छन्। अर्बपति फाइनान्सर जर्ज सोरोसद्वारा स्थापित ‘जियोसर कर्प’ र ‘फन्ड फर पोलिसी रिफर्म’ ले डेमोक्रेटिक पक्षधर समूहहरूलाई संयुक्त रूपमा १० करोड २० लाख डलर उपलब्ध गराएका छन्। त्यस्तै, न्युयोर्क सहरका पूर्वमेयर तथा व्यवसायी माइकल ब्लुमबर्गले डेमोक्रेटिक पक्षलाई ६ करोड डलरभन्दा बढी सहयोग गरेका छन्। रिपब्लिकन पक्षलाई समर्थन गर्ने प्रमुख दातामा अर्बपति जेफ यास तथा अमेरिकी व्यवसायी रिचार्ड र एलिजाबेथ उहलेनलगायत रहेका छन्। उनीहरूले विभिन्न रिपब्लिकन समर्थक समूहहरूलाई ठूलो आर्थिक सहयोग गरेका छन्।
यसैबीच, क्रिप्टो उद्योग पनि अमेरिकी चुनावी अभियानमा प्रभावशाली आर्थिक शक्तिका रूपमा देखिएको छ। ‘ओपन सेक्रेट्स’ का ब्रेन्डन जे ग्ल्याभिनका अनुसार क्रिप्टो कम्पनीहरू रिपल र कोइनबेसले क्रिप्टो उद्योगको हित प्रवर्द्धन गर्ने सुपर प्याकलाई संयुक्त रूपमा ६ करोड ३० लाख डलर उपलब्ध गराएका छन्। िज्ञापनमा मात्रै अर्बौं डलर खर्च अमेरिकी निर्वाचनमा सङ्कलित र परिचालित रकमको ठूलो हिस्सा मतदातासम्म आफ्नो राजनीतिक सन्देश पुर्याउन खर्च भइरहेको छ। घरदैलो अभियान, चुनावी र्याली, कर्मचारी परिचालन, मतदाता सर्वेक्षण तथा प्रचार सामग्रीमा खर्च हुने भए पनि सबैभन्दा ठूलो रकम विज्ञापनमा खर्च भएको देखिन्छ। विज्ञापन ट्र्याकिङ संस्था ‘एडइम्प्याक्ट’ का अनुसार अक्टोबरको अन्त्यसम्ममा चुनावी विज्ञापनमा मात्रै ११.१५ अर्ब डलर खर्च भइसकेको छ।
विशेषगरी परम्परागत टेलिभिजन विज्ञापन चुनावी प्रचारको प्रमुख माध्यम बनेको छ। यद्यपि, डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालमा गरिने विज्ञापनको खर्च पनि निरन्तर बढिरहेको छ। विज्ञापनमा सबैभन्दा बढी रकम खर्च भएका राज्यमा मिसिगन, टेक्सास र ओहायो रहेका छन्। त्यसपछि आयोवा र मेन राज्यका निर्वाचन क्षेत्रहरूमा ठूलो रकम परिचालन गरिएको छ। अमेरिकी लोकतन्त्रमा धनशक्तिको बढ्दो प्रभाव यसपटकको निर्वाचन खर्चले अमेरिकी राजनीतिमा आर्थिक शक्तिको प्रभावबारे पुनः बहस सिर्जना गरेको छ।
निर्वाचनमा उम्मेदवारको राजनीतिक विचार, लोकप्रियता र जनसमर्थनसँगै उनीहरूलाई समर्थन गर्ने अर्बपति तथा शक्तिशाली आर्थिक समूहहरूको लगानी पनि निर्णायक बन्न सक्ने देखिएको छ। ब्रेनान सेन्टर फर जस्टिसका अनुसार अक्टोबर १४ सम्ममा सबैभन्दा धेरै रकम योगदान गर्ने शीर्ष ४० दाताले मात्रै २.४ अर्ब डलर उपलब्ध गराएका छन्। यो मध्यावधि निर्वाचनको यस अवधिमा अहिलेसम्मकै उच्च योगदान हो। अमेरिकी अभियान वित्त विशेषज्ञ माइकल बेकेलका अनुसार यसपटकको निर्वाचनमा अति धनी व्यक्ति र ठूला आर्थिक समूहबाट आएको रकमले विगतका खर्चका सबै रेकर्ड तोड्ने अवस्था बनेको छ। निर्वाचनपछि मात्रै उम्मेदवार, राजनीतिक दल र बाह्य समूहहरूको वास्तविक खर्चको पूर्ण विवरण सार्वजनिक हुनेछ। तर अहिलेसम्मका तथ्यांकले अमेरिकी मध्यावधि निर्वाचन राजनीतिक प्रतिस्पर्धाभन्दा पनि आर्थिक शक्ति र प्रभावको ठूलो प्रदर्शन बन्दै गएको सङ्केत गरेका छन











प्रतिक्रिया