उदयपुरमा करेन्ट लागेर ६५ वर्षीय चौधरीको मृत्यु

0
Shares

उदयपुर ।

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका–११ ज्योतिनगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार साँझ करिब ६ः४० बजे घरको पूजा कोठामा साँझको पूजा गर्ने क्रममा होल्डरमा तार जोडेर बत्ती बाल्न खोज्दा चौधरीलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई उनकी श्रीमतीले उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याएकी थिइन्। तर, अस्पताल पुर्‍याउनुअघि नै बाटोमा उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए। चिकित्सकले साँझ ७ बजे उनलाई मृत घोषित गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुर र नगर प्रहरी कार्यालय त्रियुगाबाट प्रहरी निरीक्षक विष्णुबहादुर खड्काको कमान्डमा प्रहरी टोली घटनास्थल तथा अस्पताल पुगेको थियो।

प्रहरीका अनुसार आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी मृतकको शव आफन्तको जिम्मा लगाइएको छ।