उदयपुर ।
ट्रिपर सञ्चालनमा रोक लगाएको भन्दै टायर बालेर सडकमा उत्रिएका व्यवसायी सडकमा ट्रिपर तेर्स्याएर यातायात अवरुद्ध गरेकामा बिहीबार दिउँसोबाट अवरुद्ध सडक खुलेका छ ।
उदयपुरको कटारी क्षेत्रमा ट्रिपर सञ्चालनमा रोक लगाइएको भन्दै ट्रिपर व्यवसायीहरू प्रदर्शनमा उत्रिएका थिए । व्यवसायीहरूले ट्रिपर चल्न पाउनुपर्ने माग राख्दै मदन भण्डारी राजमार्गअन्तर्गत कटारी सडकखण्डमा ट्रिपर तेर्स्याएर सडक अवरुद्ध गरेका थिए ।
सौर्य सिमेन्टको खानीबाट चुनढुंगा ढुवानी गर्ने ट्रिपर सञ्चालनलाई लिएर स्थानीय र ट्रिपर व्यवसायीबीच विवाद बढ्दै गएपछि व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । स्थानीयको विरोधका कारण चुनढुंगा उत्खनन तथा ढुवानी प्रभावित भएपछि आफूहरूको व्यवसाय नै संकटमा परेको भन्दै व्यवसायीहरूले विरोध जनाएका थिए ।
यसअघि पनि कटारी नगरपालिका–४ स्थित सिम्ले बजार क्षेत्रमा ट्रिपर व्यवसायीहरूले सडकमा टायर बालेर प्रदर्शन गर्नुका साथै एउटा ट्रिपर सडकमा तेर्स्याएर सिद्धिचरण लोकमार्ग अवरुद्ध गरेका थिए। केही समय प्रभावित भएको सडक प्रहरीले खुलाएको थियो ।
व्यवसायीहरूले कानुनी तथा व्यवस्थित रूपमा ट्रिपर सञ्चालन गर्न पाउनुपर्ने, चुनढुंगा ढुवानी रोक्न नहुने तथा आफूहरूको रोजगारी र लगानीको संरक्षण हुनुपर्ने माग राख्दै आएका छन् ।

यता, स्थानीयवासीले भने बस्ती हुँदै भारी ट्रिपर सञ्चालन हुँदा सडक, वातावरण तथा स्थानीय जनजीवनमा असर परेको भन्दै वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने माग गर्दै आएका छन्। कटारी नगरपालिका–७ को मर्जेतपुर क्षेत्रका स्थानीयले चुनढुंगा ढुवानीका लागि मरुवा–नैनखाडी–आहालेतर्फको सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्नुपर्ने मागसमेत अघि सारेका छन्।
ट्रिपर व्यवसायीको प्रदर्शन र स्थानीयको विरोधका कारण कटारी क्षेत्रमा चुनढुंगा ढुवानीको विषय थप विवादित बनेको थियो ।। कटारी बजार छिर्ने बाटो अवरुद्ध हुँदा यात्रुहरु समेत समस्यामा परेका थिए ।
बिहीबार व्यवसायी र मजेतपुरका स्थानीय बिचमा एकापसमा छलफल भएको र व्यवसायीहरुले स्थानीयको समस्या प्रति सचेत भएर चुनढुंगा ओसार्ने र आवश्यक परेका खण्डमा सहयोग उपलब्ध गराउने सहमती भएपछि अवरुद्ध सडक बिहीबार दिउसोबाट संचालनमा आएको हो ।











प्रतिक्रिया