उदयपुर ।
नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा उदयपुर भूगोलबाट केन्द्रीय सदस्यमा ८ जनाले उम्मेदवारी दिएका छन् । उदयपुर जिल्लाबाट महाधिवेशन प्रतिनिधि बनेर गएकाहरु मध्येबाट ३५ मुनीका युवा, ३५ मुनीका युवा महिला, महिला, आदिवासी जनजाति, मुस्लिम, थारु, सीमान्तकृत र पेशागत विषय विज्ञ क्लस्टरतर्फ उम्मेदवारी परेको हो ।
कोशी भूगोल तर्फ खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवार दर्ता गरेका काँग्रेसका पुराना नेता विदुर बस्नेत र दुई पटक केन्द्रीय सदस्य समेत रहेकी लक्ष्मी परियारले भने सह महामन्त्रीबाट उम्मेदवारी फिर्ता लिएका छन् । पार्टी सभापति गगन थापा सँगको परामर्शमा उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन ।

केन्द्रीय सदस्य उम्मेदवारी दिनेहरूमा पार्टी पूर्वकेन्द्रीय सदस्यदेखि ३५ वर्षमुनिको युवा समूहसम्म रहेका छन् । यसअघि दुई पटक केन्द्रीय सदस्य भइसकेकी संविधानसभा सदस्यसमेत रहेकी प्रमिला राईले आदिवासी जनजाति क्लस्टरमा केन्द्रीय सदस्यको दाबी गरेकी छिन् । ००७ सालको क्रान्ति योद्धासमेत रहेका कांग्रेसका पुराना नेता बलबहादुर राईकी पुत्री प्रमिलाले पार्टीको लिगेसी थाम्न उम्मेदवारी दिएको बताएकी छिन् ।
त्यसैगरी ३५ वर्षमुनि युवा क्लस्टरबाट विश्वराज तामाङको उम्मेदवारी परेको छ । पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका तामाङसँगै ३५ वर्षमुनि उमेर समूहबाट महिला भूगोलतर्फ मिरा कटुवालले केन्द्रीय सदस्य दाबी गरेकी छिन् । मुस्लिम क्लस्टरबाट नजबुल खान (निलम)को उम्मेदवारी पर्दा सीमान्तकृततर्फ सञ्जाकुमारी दनुवारले केन्द्रीय सदस्य दाबी गरेकी छिन् ।

त्यसैगरी खुला महिलातर्फ सरस्वती ढुंगाना, पेशागत विषय विज्ञ क्लस्टरबाट हरिबहादुर कार्की, थारु क्लस्टरबाट डा. भोगेन्द्रप्रसाद चौधरीको उम्मेदवारी परेको छ । मंगलबार दर्ता भएको उम्मेदवारीमाथि बिहीबार बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म मतदानको कार्यतालिका तोकिएको छ ।
पदाधिकारीलगायत केन्द्रीय सदस्यहरूका लागि देशभरबाट छनोट भएर गएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्न पाउने काँग्रेसको वैधानिक व्यवस्था छ । उदयपुरबाट ८६ जना महाधिवेशन प्रतिनिधि छन् भने देशभर ७ हजार २ सय २४ जना मतदाता रहेको पार्टी उदयपुर निर्वाचन क्षेत्र नं. १ (ख)का सभापति सरोज बस्नेतले बताएका छन् ।











प्रतिक्रिया