भद्रपुर।
तास र लङ्गुरबुर्जा खेल्ने तथा खेलाउने ११ जनालाई झापामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर–१० का किरण लम्साल, मेचीनगर–५ दोकानडाँडाका विशाल लावती, मेचीनगर–१० का हर्कराज राई, मेचीनगर–७ का प्रकाश लावती, मेचीनगर–३ का सागर बस्नेत, मेचीनगर–१० का मेदनी बराल र मेचीनगर–५ का शेखरनाथ भण्डारी रहेका छन् । त्यसैगरी लङ्गुरबुर्जा खेलाउनेमा मेचीनगर–६ का चेतबहादुर लिम्बू र दीपक चौधरी, मेचीनगर–५ का सनम तामाङ तथा मेचीनगर–७ का जुगल भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले दिएको विवरण अनुसार इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा आइतबार मेचीनगर नगरपालिका–१० धुलाबारीस्थित ४५ वर्षीय जमिन राईले सञ्चालन गरेको सेकुवा कर्नरको पछाडि उत्तरपट्टि रहेको टिनको छानो भएको घरमा जुवातास खेल भइरहेको अवस्थामा छापा मारेको थियो ।

प्रहरीले उक्त घरमा खानतलासी गर्दा तास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट ८ बुङ तास र नगद १ लाख ८ हजार ५२० रुपैयाँ बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय झापा र अस्थायी प्रहरी पोस्ट इटाभट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर–८ स्थित इटाभट्टा चोकबाट प्रहरीले लङ्गुरबुर्जा (डाइस) खेल्ने चार जनालाई पक्राउ गरेको थियो ।
लङ्गुरबुर्जा खेलिरहेको अवस्थामा प्रहरीले सोमबार उनीहरूको साथबाट नेपाली रुपैयाँ १८ हजार ५०, भारतीय रुपैयाँ २०० र डाइस बरामद भएको जनाइएको छ । पक्राउ परेका ११ जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
यता झापाकै भद्रपुर ,चन्द्रगढी लगायतका क्षेत्रमा ताससहित होटलमा अनैतिक कार्य भइरहेपनि प्रहरीको ध्यान गएको छैन । हालसम्म यी क्षेत्रमा प्रहरीले छापा मारेको छैन ।











प्रतिक्रिया