एसियाडमा नेपालले सोचे जस्तो नतिजा आएन

282
Shares

जापानमा जारी २० औं एसियाली खेलकुदमा नेपालले पाएको दुई कांस्य पदकले नेपाली खेलकुद कतातिर छ भन्ने प्रष्ट्याएको छ । भाग लिन जानअघि सहभागिता खेलका केही संघले कम्तीमा एक पदक जित्ने घोषणा गरेको थियो । जसमा, कराते, उसु, बक्सिङ र जुडो मुख्य रहेको छ ।

नेपालले २० औं एसियाडमा स्वर्णसहित स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य लिएको हो । सम्भावित पदकको आशा गरिएको खेलका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा नेपालको पदक जित्ने संभावना प्रत्येक दिनको प्रतिस्पर्धामा क्षीण बन्दै गएको थियो । भन्नै पर्दा यस एसियाडमा नेपालले सोचे जस्तो नतिजा ल्याउन सकेन ।

करातेले त यसपटक एसियाडमा स्वर्ण जितेर नै इतिहास रच्ने बताइएको थियो । यहाँसम्म कि एरिका गुरुङले पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट वर्ष खेलाडीको ट्रफी उचाल्दै यसपटक स्वर्ण भनेर प्रतिबद्धता जनाएकी थिइन् । तर, उनले न स्वर्ण न रजत नै जितिन् । उनले कांस्यसमेत जित्न सकिनन् ।

गत चीनमा सम्पन्न १९ औं एसिाडमा रजत पदक जितेकी एरिकाले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पनि जितेकी छन् । यस आधारमा उनीमाथि स्वर्णको आस गर्नु कुनै हचुवा आधार पनि होइन । तर, उनी जापानमा फ्लप रहिन् ।
यसको मुख्य कारण एरिकामाथि परेको स्वर्णको दबाब नै भन्न सकिन्छ । एरिका उत्कृष्ट खेलाडी हुन् उनको फाइट खेल्ने शैली निकै आक्रमक छ । तर,स्वर्ण जित्ने दबाबले गर्दा उनले पदक नै जित्न सकिनन् ।

त्यसो त करातेका तेन्जिङ शेर्पाले भने कांस्य जितेर नेपाललाई जारी एसियाडमा पहिलो पदक दिलाए । यानि नेपालले जापानमा पहिलो पदक कराते खेलबाटै प्राप्त ग¥यो । यसपछि कबड्डीको महिला टोलीले सेमिफाइनल पुगेर नेपाललाई अर्को कांस्य पदक दिलायो । गत संस्करणमा पनि यी खेलबाटै जम्माजम्मी दुई पदक प्राप्त भएको थियो । यति फरक छ कि गत संस्करणमा एक रजत थियो भने यसपालि दुई कांस्यमै सीमित भयो ।

बक्सिङमा चन्द्र गुरुङसँग पदकको आस गरिएको थियो । तर, उनी पहलो चरणमै पराजित भएर बाहिरिनु प¥यो । यस्तै, उसु खेलबाट पनि नेपालले पदक जित्ने अपेक्षा गरिएको थियो । तर, यसमा पनि खेलाडीले सोचेअनुसार प्रदर्शन गर्न सकेनन् ।

यस्तै, प्रतियोगिताअघि तेक्वान्दो खेलमा यसपटक पदक जित्ने सक्ने वातावरण भएको बताइरहेको थियो । तर, कसैले पनि प्रदर्शन राम्रो गर्न सकेनन् । जसले गर्दा तेक्वान्दोमा नेपालले २००६ को दोहा एसियाडपछि पदकको खडेरी लागेकोलाई निरन्तरता दिन बाध्य भयो ।
नेपालले तेक्वान्दो खेलमा सर्वाधिक एसियाड पदक जितेको छ । नेपालले तेक्वान्दो खेलबाट कूल १ रजत र १३ कांस्य जितेको हो । नेपालका लागि सविता राजभण्डारीले सन् १९९८ को बैङ्कक एसियाडमा रजत पदक जितेकी थिइन् । जुन नेपालको एसियाड इतिहासमा पहिलो रजत पदक थियो । जुडो खेलमा पनि नेपालको पदक जित्ने आस गरिएको थियो । तर, कोही खेलाडी पनि यसमा पदक जित्न सकिनन् ।

पदक जित्नका लागि एउटा योजना बनाउनु पर्ने हुन्छ । विकसित देशहरूले पदक जित्न सक्ने खेलहरूमा धेरै नै मेहनत, लगानी गरेको हुन्छ । तर, नेपालमा त्यो देखिँदैन । यदि, कराते, उसु, जुडो, बक्सिङमा पदक आउने भएमा यी खेलका खेलाडीहरूलाई अहिलेदेखि नै पदक जित्नसक्ने गरी योजना बनाउनु पर्दछ । जब, प्रतियोगिता नजिक हुन्छ तब मेहनत गर्नु, विदेश विदेशमा प्रशिक्षण गराएर केही हुने वाला छैन ।
यसपटक विभिन्न खेलका खेलाडीहरूलाई विदेशमा प्रशिक्षण गराएकै हो । तर, सोचेजस्तो पदक आएन । अब, यो एसियाडलाई पाठको रुपमा लिएर भविष्यमा आगामी एसियाडमा दुई अंकमा पदक जित्ने अभियानमा अहिलेदेखि लाग्नु पर्दछ । यसमा पनि पदक जित्न सक्ने खेलहरूमा विशेष ध्यान दिनु आवश्यक छ ।

नेपालको एसियाडमा पदक
खेल स्वर्ण रजत कांस्य जम्मा
तेक्वान्दो ० १ १३ १४
कराते ० १ ४ ५
प्याराग्लाइडिङ ० १ ० १
बक्सिङ ० ० ६ ६
कबड्डी ० ० २ २
जम्मा ० ३ २५ २८