डिभिजनल वन अधिकृतसँगै अनुकूल कर्मचारीको सरुवा, वन संरक्षणमा परिचालन हुने जनशक्तिमाथि प्रश्न

0
Shares

रौतहट ।

मधेश प्रदेशमा डिभिजनल वन अधिकृत सरुवा हुने कार्यालयमै उनीहरूसँग निकट मानिएका कर्मचारीसमेत पटक–पटक सरुवा हुने गरेको आरोपले वन प्रशासनभित्र असन्तुष्टि बढाएको छ । एउटै कार्यालय प्रमुखसँगै आफू अनुकूलका कर्मचारी पनि संगै लैजाने प्रवृत्तिले वन संरक्षणका लागि आवश्यक जनशक्ति व्यवस्थापन, जिम्मेवारीको समान बाँडफाँट र कर्मचारीको वृत्ति विकासमाथि प्रश्न उठेको हो । मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयले पछिल्लो पटक २०८३ असोज १४ गते वन सेवा, जनरल फरेष्ट्री तथा स्वायल एण्ड वाटर कन्जर्भेसन समूहका वन अधिकृत/भू–संरक्षण अधिकृत तथा सातौँ र आठौँ तहका कर्मचारीको सरुवा विवरण सार्वजनिक गरेसंगै यसको खुलासा भएको हो ।

गएको भदौ ५ गते डिभिजन वन कार्यालय पर्साबाट रौतहट सरुवा भएका डिभिजनल वन अधिकृत मन्जुर अहमदसँगै अधिकृत राकेश रञ्जन र सन्दिप पटेलसमेत रौतहट सरुवा भएपछि यस्तो आशंका थपिएको हो । त्यस्तै, डिभिजन बन कार्यालय सर्लाही बाट धनुषा सरुवा भएका डिभिजनल वन अधिकृत सन्तोष झासँगै अधिकृत हिरोई चौधरी र सागर बस्याल पनि सरुवा भएको तथा धनुषाबाट सर्लाही सरुवा भएका डिभिजनल वन अधिकृत विनोद सिंहसँगै अधिकृत अनिल साहको पनि सरुवा भएको विषयले डिभिजनल बन अधिकृतको कार्यशैली माथि शंका उब्जिएको हो ।

यसअघि डिभिजनल वन अधिकृत सिंह बारा कार्यरत रहँदा ती अधिकृतलाई समेत आफूसँगै धनुषा सरुवा गराइएको दाबी गरिएको छ । उनीहरुको सरुवाहरूबीचको सम्बन्ध र निर्णय प्रक्रिया माथिनै शंका उब्जिएको हो । तर पछिल्ला सरुवा–पदस्थापनको अभ्यासले केही डिभिजनल वन अधिकृत जहाँ–जहाँ सरुवा हुन्छन्, उनीहरूसँग काम गरेका वा निकट मानिएका कर्मचारीसमेत त्यही कार्यालयमा पुग्ने गरेको कर्मचारीहरूको गुनासो छ । वन कार्यालयमा कर्मचारीको जिम्मेवारी वन संरक्षण, चोरी–तस्करी नियन्त्रण, सामुदायिक वन व्यवस्थापन, वन पैदावारको अनुगमन तथा विकास कार्यक्रम कार्यान्वयनसँग प्रत्यक्ष जोडिएको हुन्छ ।

वन नियमावलीले समेत डिभिजनल वन अधिकृतलाई वन क्षेत्रको निरीक्षण तथा व्यवस्थापनसम्बन्धी महत्वपूर्ण जिम्मेवारी दिएता पनि आफु अनुकुलका कर्मचारी लाई आफनै कार्यालयमा सरुवा गराएर योजना, बिकास, ब्यबस्थापन र प्रशासनको जिम्मेबारी दिईने गरेको छ । यसले गर्दा लामो समयसम्म फिल्डमा खटिनुपर्ने कर्मचारीलाई अवसरबाट वञ्चित गर्ने, जिम्मेवारीको समान बाँडफाँट नहुने र वन संरक्षणमा प्रत्यक्ष परिचालन हुने जनशक्ति कमजोर बनाईने गरेको आरोप रहेको छ ।

आफु अुनुकुलका कर्मचारी लाई आफै संग सरुवा गराएपछि डिभिजन बन कार्यालयमा गुटबन्दि हुने गरेको छ । निश्चित अवधि पूरा भएपछि सरुवा हुनुपर्ने व्यवस्था भए पनि केही कर्मचारी लामो समय एउटै कार्यालयमा रहने र केही कर्मचारी भने कार्यालय प्रमुख परिवर्तनसँगै कार्यालय परिवर्तन गर्ने गरेको गुनासो छ । मन्त्रालयको वेबसाइटमा सरुवा माग गर्ने निवेदनको ढाँचा सहित कर्मचारीलाई आफूले रोजेको कार्यालयका लागि सरुवा मागसम्बन्धी निवेदनसमेत माग गरेको थियो तर कर्मचारीहरूले दिएका आवेदन र प्राथमिकता लाई लत्याउदै मनलाग्दि सरुवा गरिएको छ ।

मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव हेमन्त साहले भने सरुवा–पदस्थापन मापदण्डअनुसार नै गरिएको बताउनु भयो । एउटै डिभिजनल वन अधिकृतसँग सम्बन्धित कर्मचारीहरू पटक–पटक एउटै कार्यालयमा पुग्ने गरेको विषयलाई अभिलेखका आधारमा परीक्षण हुनु पर्ने माग उठेको छ । वन संरक्षणमा प्रत्यक्ष परिचालन हुनुपर्ने जनशक्ति कार्यालय प्रमुखको अनुकूलताअनुसार व्यवस्थापन हुने अवस्था सिर्जना भएमा त्यसको असर कर्मचारीको वृत्ति विकासमा मात्र नभई वन संरक्षण र सरकारी कार्यक्रमको कार्यान्वयनमै पर्न सक्ने जानकारहरु बताउछन ।