सरुवा–पदस्थापनमा डिभिजनल बन अधिकृतले आफु अनुकूलता खोजेको आरोप

0
Shares

रौतहट ।

मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालय अन्तर्गत कर्मचारीको सरुवा–पदस्थापन प्रक्रिया डिभिजनल बन अधिकृतको अनुकुलमा भएको भन्दै आलोचना भएको छ । पारदर्शिता र मापदण्ड पालना नभएको भन्दै वन तथा वातावरण मन्त्रालय माथि प्रश्न उठेको छ । डिभिजनल वन अधिकृतहरू सरुवा हुँदा आफूअनुकूलका कर्मचारीलाई समेत नयाँ कार्यस्थलमा लैजाने गरेको आरोपपछि वन तथा बाताबरण मन्त्रालयको सरुवा प्रणालीमाथि असन्तुष्टि बढेको हो ।

निश्चित अवधि पूरा भएपछि सरुवा हुने प्राबधान रहेपनि केही कर्मचारी लामो समयदेखि एउटै कार्यालयमा कार्यरत रहेको र अधिकास डिभिजनल वन अधिकृतको सरुवासँगै केही कर्मचारी भने उनीहरु संगै सोही कार्यालयमा सरुवा हुने प्रबृतीले कर्मचारीबृतमै आलोचना भएको छ । सरुवा–पदस्थापनमा समान अवसर र स्पष्ट मापदण्ड बिपरित डिभिजनल बनअधिकृतको अनुकुलतामा कर्मचारीको सरुवा हुनुले बन संरक्षण भन्दा पनि गलत कार्यको ढाकछोपमा उनीहरुको प्रयोग हुने अनुमान गरिएको छ । डिभिजनल बन अधिकृत संगै अनुकुलका कर्मचारीको एकै स्थानमा सरुवा हुदा डिभिजन वन कार्यालयबाट सञ्चालन हुने विकास निर्माण, योजना तथा व्यवस्थापनसँग सम्बन्धित काममा सोेही कर्मचारीलाई जिम्मेवारी दिने गरिएको आरोपसमेत रहेको छ ।

यसको असर अरु कर्मचारीको कार्यअनुभव, क्षमता विकास र वृत्ति विकासको अवसरमा परेको वन सेवाका केही कर्मचारीको गुनासो छ । विगतका सरुवा–पदस्थापनको अभ्यासलाई हेर्दा केही डिभिजनल वन अधिकृत जहाँ–जहाँ सरुवा भएर गए, त्यहाँ उनीहरूसँग निकट मानिएका कर्मचारीसमेत पुगेको दाबी गरिएको छ । डिभिजन वन कार्यालय धनुषाबाट सर्लाही सरुवा भएका डिभिजनल वन अधिकृत सन्तोष झासँगै अधिकृत हिरोई चौधरी र सागर बस्याल पनि उनीसंगै सरुवा भएका छन । त्यस्तै, डिभिजन वन कार्यालय धनुषा बाट सर्लाही सरुवा भएका डिभिजनल वन अधिकृत विनोद सिंहसँग अधिकृत अनिल साहको पनि सरुवा भएको छ । यसअघि डिभिजनल बनअधिकृत सिहले डिभिजन बन कार्यालय बारा बाट ती दुबै अधिकृत लाई आफुसंगै धनुषा सरुवा गराएका थिए ।

यसैगरी, डिभिजन वन कार्यालय पर्साबाट रौतहट सरुवा भएका डिभिजनल वन अधिकृत मन्जुर अहमदसँग अधिकृत राकेश रन्जन र सन्दिप पटेलसमेत सरुवा भएपछि डिभिजनल बनअधिकृतको नीयत माथि शंका उब्जेको छ । मन्त्रालयले कर्मचारीलाई आफूले रोजेको कार्यालयका लागि अनलाइन आवेदन माग गरे पनि त्यसपछि गरिएको सरुवामा मनलाग्दि भएको छ । लामो समयदेखि एउटै कार्यालयमा कार्यरत कर्मचारीको सरुवा नहुनु र केही कर्मचारीको भने कार्यालय प्रमुखको सरुवासँगै कार्यस्थल परिवर्तन हुनु शंकाको बिषय बनेको छ । सरुवा–पदस्थापनमा व्यक्तिगत अनुकूलता वा सम्बन्धले प्राथमिकता पाएको हो भने त्यसले वन प्रशासनमा समान अवसर, जिम्मेवारीको बाँडफाँट र कर्मचारीको वृत्ति विकासमा असमानता सिर्जना गर्न सक्ने सरोकारवालाको भनाइ छ ।

वन सेवामा कार्यरत कतिपय अधिकृत तथा रेन्जर लामो समय फिल्डमा सीमित हुनुपर्ने, तर केही कर्मचारीले लगातार डिभिजन कार्यालयका योजना, प्रशासन तथा व्यवस्थापनजस्ता महत्वपूर्ण शाखामा काम गर्ने अवसर पाउने गरेको गुनासो समेत गरिएको छ । मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव हेमन्त साहले भने सरुवा–पदस्थापन मापदण्डअनुसार नै गरिएको दाबी गर्नुभएको छ । सरुवा–पदस्थापनमा देखिएको भनिएको सिन्डिकेट तथा पहुँचको अभ्यास अन्त्य गर्दै स्पष्ट मापदण्ड, आवश्यकता, योग्यता र समान अवसरका आधारमा कर्मचारी व्यवस्थापन गर्नुपर्ने माग कर्मचारी वृत्तबाट उठेको छ । विगतका सरुवा–पदस्थापनको अभिलेख सार्वजनिक गरी एउटै कार्यालय प्रमुखसँग कर्मचारीहरू पटक–पटक सरुवा भएर गएको विषयमा आवश्यक छानबिन गर्नुपर्ने मागसमेत गरिएको छ ।