बुटवल।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले २ किलो ६०५ ग्राम वरावरका सुनका गरगहना बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म, हेडक्वाटर डण्डा रुपन्देहीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेलबाट ती गरगहना बरामद गरेको हो । उक्त सुनको बजार मूल्य दुई करोड ५१ लाख ९३ हजार ३५० रहेको छ । बरामद गरगहना र नियन्त्रणमा लिइएकी पटेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देही पठाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईले बताउनु भयो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक भट्टराईको कमान्डमा खटिएकोटोली रईलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक लाल बहादुर केसी सहितको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी पटेलको जाँच गर्ने क्रममा गरगहना बरामद भएको हो ।
सीमा जाँचकक्षमा शंकास्पद रूपमा प्रस्तुत भएकी पटेलको साथबाट विभिन्न डिजाइन तथा आकारका हार ९ पीस, औँठी ८१पीस, चुरा१३ पीस , माला४ पीस, सिक्री ८ पीस , झुम्का ४४ पीस , गोली औँठी १४ पीस, लकेट १ पीस, पोते, १७ थान ,बाली तथा जुली १८८ जोर, टप पथरसहितको ६४ जोर, नाकको फुली, २२ पीस पत्थरवाला हार २ पीस सानो झुम्का १० पीस , कानको बाली ११ जोर र ब्रासलेट ८ पीस लगायत गरगहना फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनु भयो । प्रहरीले बुझाएको सुनका सामानको आवश्यक प्रक्रिया अघि बढाइएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताउनु भयो । गहनाको परीक्षण तथा धातुको परिमाण खुलाउन सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघको सहयोग लिइएको थियो ।











प्रतिक्रिया