उदयपुरबाट भोजपुर जोड्ने सुनकोशीको पुल अलपत्र

0
Shares

उदयपुर ।

 उदयपुरको भौदण्डीगढी नगरपालिका वडा नं १ रानीटारबाट भोजपुरको आमचोक गाउँपालिका ५ जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु गरेको १० वर्ष भए पनि निर्माण व्यवसायीको लापरबाहीका कारण आधा काम सकेर अलपत्र अवस्थामा छाडिएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका र भोजपुरको आमचोक गाउँपालिका जोड्न रानीटारमा ०७४ मा निर्माण सुरु गरिएको १० वर्ष पुग्न लाग्दा पनि पुल अझै अलपत्र छ । पुल नबन्दा उदयपुरको चौदण्डीगढी नगरपालिका– १ र भोजपुरको आमचोक गाउँपालिका– ५ जोड्ने सडक वर्षायाममा यातायातबाट सम्बन्धविच्छेद हुने गरेको छ । हिउँदमा पनि सवारीसाधन र सामान नदी पार गराउन फेरीको भर पर्नुपर्छ ।

वर्षाको समयमा झोलुंगे पुलबाट भरियालाई बोकाएर चामल, खाद्यान्न, निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्नुपर्ने अवस्था छ । २२ करोड ३५ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको पुलले एक दशकसम्म पनि नदीमाथिको सडक यातायात सहज बनाउन नसक्दा उदयपुरको बेल्टार बजार हुँदै भोजपुरको आमचोकसहित दक्षिणी क्षेत्र जोड्ने सडकको उपयोग नै प्रभावित भएको छ । 

सडक निर्माण भएर पनि बिचमा सुनकोशी नदी तर्न पक्की पुल नहुँदा स्थानीयले हरेक वर्ष एउटै समस्या दोहो¥याउनुपरेको छ । पुल निर्माण सम्पन्न भए भोजपुरका २० हजार नागरिकलाई उदयपुर हुँदै धरान, इटहरी, विराटनगर जोड्ने छोटो र सहज मार्ग खुल्ने चौदण्डीगढी नगरपालिका– १, रानीटारका निरबहादुर राईले बताए ।

उदयपुरबाट भोजपुरतर्फ चामललगायत खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु ढुवानी हुने र भोजपुरबाट काठलगायत सामग्री उदयपुरतर्फ ल्याउने गरिएको छ । तर, वर्षायाममा मोटरबाट सामान लैजान नसक्दा भरियालाई झोलुंगे पुलबाट बोकाएर नदी पार गराउनुपर्ने अवस्था रहेको उनले बताए । ‘पक्की पुल निर्माण सुरु गरेको १० वर्षमा पनि बनेन । हिउँदमा फेरी लगाएर सामान तार्नुपर्छ । बर्खामा भरियालाई बोकाएर ढुवानी गर्नुपर्ने बाध्यता छ,’ राईले भने, ‘उदयपुरबाट दाल,चामल तरकारी, फलफुल तथा अन्य दैनिक उपभोग्य सामान लगायत खाद्यान्न र उपभोग्य वस्तु जान्छन् । 

भोजपुरबाट पहाडी क्षेत्रमा उत्पादन हुने विभिन्न प्रकारका खाद्यान्नहरु,धातुका सामान तथा काठ लगायतका वस्तु आउने गर्छन् । पुल बनेको भए स्थानीयलाई धेरै सहज हुने थियो । अहिले पुल नबन्दा सबैभन्दा मारमा बिरामी पर्ने गरेका छन् ।’ पुल नहुँदाको जोखिम हिउँदमा समेत देखिने गरेको छ । गत हिउँदमा सुनसरीको इटहरीबाट भोजपुरको आमचोकतर्फ जाँदै गरेको यात्रुवाहक बस फेरीबाट सुनकोशी तार्ने क्रममा नदीमा डुबेको थियो । बसमा यात्रु नभएकाले मानवीय क्षति भने हुन पाएन । यात्रुहरूलाई त्यसअघि नै झोलुंगे पुलबाट नदी पार गराइएको थियो । 

चौदण्डीगढी नगरपालिका–१ का वडाध्यक्ष सीताराम राईका अनुसार पुल नबन्दा स्थानीयले वर्षौँदेखि एउटै समस्या भोग्दै आएका छन् । ‘समयमै पुल बनेन । हिउँदमा फेरी सञ्चालन गर्नुपर्छ, वर्षामा यातायात नै ठप्प हुन्छ,’ उनले भने, ‘ भोजपुरका र उदयपुरका झन्डै ३० हजार नागरिकलाई उदयपुर हुँदै ठुला सहरसँग जोड्ने मुख्य नाका भएकाले पुलको आवश्यकता धेरै छ ।’ मोटरेबल पक्की पुल निर्माणका लागि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ०७४ भदौमा रानीटारमा शिलान्यास गरेका थिए । त्यही अवसरमा उदयपुरको त्रियुगा नगरपालिका–१४, धाप्लाङ र खोटाङको बराहपोखरी गाउँपालिका–२ जोड्ने सुनकोशी पुलको पनि शिलान्यास गरिएको थियो । 

दुवै पुलको निर्माण रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडौंले गरिरहेको पुल सेक्टर कार्यालय धरानले जनाएको छ । पुल सेक्टर कार्यालय धरानका सूचना अधिकारी नवीनकुमार साहका अनुसार सुरुमा तयार गरिएको पुलको डिजाइन परिवर्तन गर्नुपरेकाले निर्माणमा ढिलाइ भएको हो । रानीटार पुलको ठेक्का रकम भ्याटबाहेक २२ करोड ३५ लाख रुपैयाँ रहेको छ । धाप्लाङ पुलको ठेक्का रकम भने २२ करोड पाँच लाख रुपैयाँ रहेको कार्यालयले जनाएको छ । 

राज्यले सडक पु¥याए पनि नदीमाथि पुल नबन्दा पूर्वाधारको लाभ नागरिकसम्म पुग्न सकेको छैन । एक दशकअघि सुरु भएको पुल निर्माण कहिले सम्पन्न हुन्छ भन्ने टुंगो नहुँदा स्थानीय भने हरेक वर्ष हिउँदमा फेरी र वर्षामा भरियाकै भरमा नदी पार गर्न बाध्य छन् । निर्माणाधीन यस पुलका बारेमा निर्माण कम्पनीका संचालकहरुसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।