हिमपहिरोमा परी खोटाङका एक जनाको मृत्यु, दुई बेपत्ता

0
Shares

खोटाङ। 

 मनाङमा गएको हिमपहिरोमा पर्दा खोटाङका एक जनाको ज्यान गएको छ । हिम्रुङ हिमालमा गएको पहिरोका कारण ऐसेलुखर्क गाउँपालिका–३ का घनश्याम राईको ज्यान गएको हो । 

असोज–११ गतेको हिमपहिरोमा पर्नेको खोजी गर्ने क्रममा सोमबार घनश्यामसहित दुई जनाको शव फेला परेको नेपाल नेशनल माउण्टेन गाईड एशोसियसनले जनाएको छ । हिमपहिरोमै ऐसेलुखर्ककै सुरज राई र लबकुमार गुरुङ अझै बेपत्ता रहेको वडा नम्बर–३ को शीरकुमार राईले बताए । साबिक ऐसेलुखर्क गाबिस–९ लुबुका सुरज काका र घनश्याम भतिज हुन् । 

सदस्य राईका अनुसार फरक टेण्डमा बसेका कारण हिमपहिरोबाट जोगिएका अर्का गाईडबाट बेपत्ताबारे खबर पाएको  जनाइएको छ । मार्फभूमि गाउँपालिकामा पर्ने हिमु्रङ हिमालको बेशक्याम्पमा हिमपहिरो झर्दा हिमाल आरोही र सहयोगीसहित १० जना बेपत्ता भएका थिए । बेपत्तामध्ये हालसम्म ४ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । अन्य बेपत्ताको खोजी कार्य भईरहेको छ । 

बेपत्तामध्ये घनश्यामको जेठो दाई युवराज र अन्तरे भाई यसबहादुर यसअघि रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका छन् ।