कोशी टप्पुका दुई पोथी गैँडा भालेको खोजीमा

376
Shares

उदयपुर । 

उदयपुर, सप्तरी र सुनसरी जिल्लामा फैलिएको कोशी टप्पु बन्यजन्तु आरक्षमा २०८० सालको असोज महिनामा चितवन वन्यजन्तु राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरिएको दुई पोथी गैडाले अहिले भाले खोज्न थालेका छन् । भालेको अभावमा गैँडाको वंश विस्तारमा अवरोध आएको छ ।
पुष्पा र अञ्जली नाम गरेका ती दुई गैँडाको उमेर अहले ६ वर्ष र साढे पाँच वर्षको छ । कोशी टप्पुमा ल्याउदा ४ र साढेतीन वर्षका थिए । अहिले यि दुवै पोथी गैंडा वयस्क हुँदै गएकोले सन्तान उत्पादन गर्ने उमेरको भएका छन् । अहिले भाले खोज्ने उमेर भएकोले कोशी टप्पुमा गैँडाको वंश विस्तारकालागि उपयुक्त स्थान र समय पनि भएको छ । ती दुवै पाथीले भाले गैँडा खोजी गनर्द थालेको उनीहरुको व्यवहारले देखाउन थालेको छ ।

कोशी टप्पु बन्य जन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार तीन वर्ष अघि चितवन वन्यजन्तु राष्ट्रिय निकुञ्जबाट कोशी टप्पुमा ल्याइएका दुई पोथी गैँडा अहिले ६ र साढेपाँच वर्षका भए । यिनीहरु दुबैको आमा बन्ने समय भएको छ तर भाले नहुँदा आमा बन्नबाट बञ्चित भएका छन् । दुवै पोथी गैडालाई सप्तरीको कञ्चनरुप नगरपालिकामा पर्ने पथरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षको सेक्टरमा सुरक्षित बासस्थानमा राखिएको र उनिहरुकोलागि घाँस दानापानी आदि सबै कुराको व्यवस्था गरिएको यादवले बताउनु भयो ।

प्रमुख संरक्षण अधिकृत यादवले भाले गैंडाकालागि कोशी टप्पु वन्यजन्तु आरक्षबाट कृषि वन था पर्यावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा माग गरेर पत्राचार गरिएको छ । दुवै पोथी गैँडाको उमेर हाराहारी जस्तो रहेको छ । यो उमेर भनेको प्रजनन प्रक्रियामा अग्रसर हुने उमेर भएकोले र उनीहरुको कृयाकलापले पनि भाले गैंडा खोजेको आभास पाइएको हुँदा माग गरिएको र पर्यटकहरु आकर्षित गर्नकालागि पनि गैँडा चाहिने बताउनु भयो ।
साँझ बिहान कोशी टप्पुको घाँसे मैदानमा चर्ने र साँझ परेपछि आफ्नो बास स्थानमा फर्कने दुवै पोथी गैँडा हात्तीसँग पनि चर्ने गरेको पाइन्छ । गैडाकालागि नितान्त नयाँ ठाउँ हो कोशी टप्पु । शुरुमा ल्याउँदा दुवै गैँडा केही दिन अलमलिएका थिए तर पछि लयमा आएर अन्य जनावरहरुसँग घुलमिल भएर चर्न थालेको कोशी टप्पु वन्यजन्तु आरक्षकी सूचना अधिकारी प्रतिभा सिवाकोटी बताउनु हुन्छ ।

गैंडाकालागि पथरी सेक्टरमा १६ फिट अग्लो र ८५ फिट लामो वरपरगर्न सक्ने फराकिलो सुरक्षित खोर बनाइएको छ । बिहानदेखि साँझसम्म चरनमा जान्छन र साँझपरेपछि त्यही खोरमा ल्याएर राखिन्छ । तर अहिले भने ती दुवै पोथी गैंडाले खोर भत्काएर बाहिर निस्कने गरेको हुँदा भाले खोजको संकेत दिएको आभास भएको रेन्जर साहले बताए ।

२०८० साल असोजमा ल्याइएका दुवै पोथी गैंडा प्रजनन उमेरको भएको हुँदा भाले खोजेको जस्तो व्यवहार गर्दैै आएको र चकचकी बढी गर्ने आफू बसेको खोर भत्काउने गरेको छ । दुवै गैंडा पूर्ण जवान भएकोले अब भालेको आवश्यकता देखिएको पथरी सैक्टरका रेन्जर रामजीवन साह बताउँछन । 
दुवै गैंडा सधैँ सँगै चरनमा जाने गरेको र आफ्नो चरन क्षेत्रभन्दा बाहिर नगएकोले अन्य जनावर वा वस्तीमा गएर मानव वा अन्य भौतिक संरचनामा क्षति नगरेको, चितवनमा जस्तो दुःख नदिएको अवस्था छ । पोथी गैंडा भएकोले शान्त र सौम्य भएर चरनमा गए पनि खोरमा आएर अत्यन्त पोषिलो खानपिनका कारण र उमेरले गर्दा, बैंश चढ्दै गएपछि भालेको खोजी गरेको संकेत देखिएको प्रमुख संरक्षक यादव बताउनु हुन्छ ।

कोशी टप्पु भनेको पर्यटकीय क्षेत्र पनि भएकोले आरक्षको पथरी सेक्टरबाट त्रियुगा नदी पारी जानकालगि त्रियुगा नदीमा बेलीब्रिज लगाउने योजना रहेको जानकारी दिदैं प्रमुख यादवले बेलिब्रिज लगाएपछि बेलका नपाको ८ नं वडामा रहेको बेल विच रिसोर्ट जान आउन र होमस्टेहरुमा जान आउन पर्यटकहरुलाई सहज हुने बताउनु भयो । यस क्षेत्रमा पर्यटकहरु अर्ना, बदेल गोही चराचुरुङ्गीहरु हेर्न कोशीमा बोटिङ गर्न आउने भएकोले पर्यटकहरुको सुविधाकोलागि पनि बेलिब्रिज आवश्यक रहेको यादवको भनाई रहेको छ ।

२०३२ सालमा स्थापना भएको कोशी टप्पु वन्यजन्तु आरक्ष खासगरी तीन जिल्लालाई समेटेको छ । मुख्य कार्यालय कोशी प्रदेशको सुनसरी जिल्लाको कोशी गाउँपालिकामा महेन्द्र राजमार्गबाट करिब ३ किलोमिटरभित्र बैरवा गाउँको टप्पुमा रहेको छ  । यो आरक्षले कोशी प्रदेशकै उदयपुर जिल्लाको बेलका नगरपालिकाको केही भाग र मधेश प्रदेशको सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकको केही भाग ओगटेको छ । तीनवटै जिल्लाको कुल १७५ वर्गकिलोमिटर भूभाग ओगटेको कोशी टप्पु वन्यजन्तु आरक्षमा खासगरी अर्ना नै बढी पाइन्छ । अर्नाका अलावा हात्ती, बदेल, मृग, खरायो, स्याल, बाँदर, गोही, वन बिरालो लगायतका विभिन्न जनावरहरुका साथै सयाँै प्रजातीका चराचुरुङ्गीहरु पनि पाइन्छन् । चराको राजधानी कै रुपमा रहेको कोशी टप्पु सिमसार क्षेत्रमा चरा हेर्नकै लागि टाढाटाढाबाट हजारौ मानिसहरु आउने गरेका वन्यजन्तु आरक्षका कर्मचारीहरु बताउँछन् ।