सशस्त्र प्रहरीद्वारा एक सय तीस किलो गाँजा बरामद

0
Shares

उदयपुर । 

उदयपुरको कटारी नगरपालिका–६ साँघुरीबाट सशस्त्र प्रहरीले १ सय ३० किलो गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण हेडक्वार्टर त्रियुगा, उदयपुरको मातहतमा रहेको सुरक्षा बेस क्याम्प कटारीले विशेष सूचनाका आधारमा ठूलो मात्राको गाँजा बरामद गरेको हो ।

बुधबार राति करिब २ः४० बजे साँघुरीबाट करिब ५ किलोमिटर दक्षिण चुरे जंगलको पैदल बाटो हुँदै अवैध रूपमा गाँजा बोकेर ल्याउँदै गरेको समूहले सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि गाँजाका बोरा छाडेर फरार भएको हो ।

सशस्त्र प्रहरी गस्ती टोलीले ५ वटा बोरा फेला पारेको थियो । ती बोरामा रहेको गाँजा तौल गर्दा १ सय ३० किलो रहेको पुष्टि भएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गाँजा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कटारीमा बुझाइएको छ । गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।