साक्षरता दिवसमा जिल्लास्तरीय वक्तृत्वकला

0
Shares

उदयपुर ।

उदयपुरको गाईघाटमा बुधबार ६० औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगितामा सगरमाथा मोडेल स्कुल, त्रियुगाकी छात्रा समीक्षा खत्री प्रथम भएकी छन् ।

‘मानव, पृथ्वी र समृद्धिका लागि साक्षरता’ शीर्षकमा आयोजित प्रतियोगितामा त्रिवेणी माध्यमिक विद्यालय कटारीका छात्र अनुज काफ्ले द्वितीय भएका छन् । त्यस्तै, बालमन्दिर माध्यमिक विद्यालय त्रियुगाकी छात्रा अनुराधा खतिवडा तृतीय तथा माध्यमिक विद्यालय नेपालटारकी छात्रा रिदिका तामाङ सान्त्वना स्थान हासिल गर्न सफल भएकी छन् ।

शिक्षा विकास तथा समन्वय एकाइको कार्यालयमा मंगलबार आयोजित प्रतियोगिता एकाइ प्रमुख (उपसचिव) भवानी प्रसाद कट्टेलको अध्यक्षतामा सम्पन्न भएको हो । प्रतियोगितामा जिल्लाका आठ वटै स्थानीय तहअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयबाट छात्र–छात्रा गरी कुल चार जना विद्यार्थी सहभागी भएका थिए ।

विद्यार्थीहरू स्थानीय तहमार्फत प्रतियोगितामा सहभागी भएका हुन् । प्रतियोगितामा प्रथम हुने समीक्षा खत्रीले नगद ७ हजार रुपैयाँ र प्रमाणपत्र, द्वितीय हुने अनु काफ्लेले ५ हजार रुपैयाँ र प्रमाणपत्र, तृतीय हुने अनुराधा खतिवडाले ३ हजार रुपैयाँ र प्रमाणपत्र तथा सान्त्वना हुने रिदिका तामाङले २ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।

साक्षरता दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीहरूमा वक्तृत्वकला, सिर्जनात्मक अभिव्यक्ति तथा साक्षरताको महत्वबारे चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने आयोजकले जनाएको छ ।
यस्ता प्रतियोगिताले विद्यार्थीहरुमा साहित्य प्रति अभिरुचि जगाउने तथा लेखन शैली, अभिव्यक्ति शैलीको विकास हुनुका साथै क्षमता अभिवृद्धि हुने भएकोले प्रत्येक विद्यालयले अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरुलाई उत्पे्ररणा जगाउनु आवश्यक रहेको एकाई प्रमुख कट्टेलले बताउनु भयो ।

कतिपय विद्यालयहरुले यस्ता प्रतियोगिता प्रति वेवास्ता गरेर लुकेका प्रतिभाहरुको पहिचान गर्न समस्या भएको अवस्थामा बाहिरबाट आएका प्रतियोगिता सम्बन्धी सूचनाहरु लुकाएर प्रतिभाहरुको प्रस्फुटन हुन नसकेको अवस्था छ । प्रत्येक विद्यालयले सूचना पाएपछि विद्यार्थीहरुलाई जानकारी दिएर पूर्व तयारी गर्न गराउन र प्रतियोगितामा अनिवार्य सहभागी गराएर उनीहरुको क्षमता अभिवृद्धिमा ध्यान दिन अभिभावकहरुले सुझाव दिएका छन् ।