उदयपुर ।
उदयपुरको ताप्ली गाउँपालिका ५कुनाही गाउँमा खानेपानीको समस्या अझै समाधान भएको छैन । बर्सौँदेखि खोलाखोल्सी र कुवा पँधेरोको पानीबाट जीवन गुजारा गर्दै आएका उदयपुरको दुर्गम स्थानमा अवस्थित तीन वटा पालिकाका आम उपभोक्तालाई लक्षित गरी सञ्चालनमा ल्याइएको सुनकोशी खानेपानी आयोजनामा ढिलाइ भएको छ ।
उदयपुरको ताप्ली गाउँपालिका–५, कुनाहीस्थित सुनकोशी किनारामा सम्पवेल राखेर निर्माण गर्न लागिएको कोशी प्रदेशकै सबैभन्दा ठुलो खानेपानी योजनाको काममा ढिलासुस्ती भएपछि उपभोक्ता स्वच्छ खानेपानी उपभोगबाट वञ्चित हुँदै आएका छन् । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय विराटनगरले उक्त आयोजनामा सञ्चालन गरेको हो । त्यस क्षेत्रका स्थानीयमा सुनकोशी नदीको स्वच्छ खानेपानी उपभोग गर्न पाउने समय कहिले आउने हो भन्ने अन्योल छाएको छ।
नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गत रहेको जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनामार्फत सङ्घीय खानेपानी तथा ढल व्यवस्था कार्यालय विराटनगरले ११६ करोडभन्दा बढीको लागतमा झन्डै चार वर्ष पहिले लिफ्टिङ सिस्टमका दुई छुट्टाछुट्टै सुनकोशी खानेपानी योजना निर्माणको काम सुरु गरेको हो । निर्माण कम्पनी र आयोजना सञ्चालक कार्यालयको ढिलासुस्तीका कारण निर्धारित समयसीमाभित्र योजनाको काम सम्पन्न नहुने भएपछि उदयपुरका ताप्ली, रौतामाई र लिम्चुङबुङगाउँ पालिकाका करिब ३७ हजार स्थानीय उपभोक्ताले स्वच्छ खानेपानीको सुविधा पाउन अझ
कति समय कुर्नुपर्ने भन्ने कुनै टुङ्गो छैन ।

नेपाल सरकारको एक अर्ब १६ करोड रुपियाँको लगानीमा २०८२ साल असार ३० गतेभित्र निर्माणसम्पन्न गर्ने गरी सुनकोशी खानेपानी आयोजनाको स्किम–१ अन्तर्गत लिम्चुङ्बुङ गाउँपालिकाका वडा नं. १ देखि ५ सम्म र रौतामाई गाउँपालिकाको वडा नं. १ देखि ३ सम्मका तीन हजार २७२ घरधुरीका १९ हजार १४१ उपभोक्तालाई स्वच्छ खानेपानीको सुविधा उपभोग गर्न पाउने गरी उक्त योजना कार्यान्वयनमा ल्याएको हो । योजनाको स्किम–२ अन्तर्गत ताप्ली गाउँपालिकाका वडा नं. १ देखि ५ सम्मका तीन हजार ५६ घरधुरीका १७ हजार ८७९ उपभोक्तालाई छ हजार ३२७ वटा धारामार्फत स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउनुपर्ने भए पनि हालसम्म पाइप लाइन गाड्ने काम पनि नसकिएको ताप्ली गाउँपालिकाकी उपाध्यक्ष धनम मगरले बताउनुभयो ।
तीन वटा पालिकाका छ हजार ३२७ घरधुरीका कुल ३७ हजार २० जना उपभोक्तालक्षित आयोजना तयार पारिएको हो । बृहत् लिफ्टिङ सुनकोशी खानेपानी आयोजना अन्तर्गत स्थानीय उपभोक्ताले नगद जम्मा गर्नुपर्ने एक प्रतिशतले हुने रकम एक करोड ५८ लाख ९६ हजार ५५२ रुपियाँ सम्बन्धित पालिकाले यसअघि नै जम्मा गरिदिएको तर ठेकेदारले ढिलाइ गर्दा योजनाको काम अगाडि नबढेको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विकले बताउनुभयो ।
आयोजनामा स्किम–२ अन्तर्गत ताप्ली गाउँपालिकाको वडा नं. ५ को कुनाही र स्किम– १ अन्तर्गत लिम्चुङ्बुङ गाउँपालिकाको वडा नं. १ को राकुली दोभानस्थित सुनकोशी नदी किनारामा सम्पवेल बनाएर व्रmमशः २५ र ३५ किलोमिटरमाथि च्यानडाँडा र दोबाटे भन्ज्याङसम्म कोशीको पानी तानेर उपभोक्तालाई वितरण गरिने छ । स्किम–१ का आठ ठाउँमा पम्पिङ गरी प्रतिसेकेन्ड १७.५ लिटर र स्किम–२ मा सात ठाउँमा पम्पिङ गरी प्रतिसेकेन्ड १६.५ लिटर पानी तानेर रिजर्भ ट्यांकीमा जम्मा गरी उपभोक्तालाई पाइपमार्फत घर घरमा वितरण गरिने आयोजना प्रमुख इन्जिनियर टेकबहादुर चौधरीले बताउनुभयो ।
आयोजना प्रमुख चौधरीका अनुसार हालसम्म दुई वटा सम्पवेल, चार वटा रिजर्भ लिफ्ट ट्यांकी र ६७७ किलोमिटर पाइप लाइनमध्ये करिब ५५० किलोमिटर पाइप लाइन निर्माणको काम सम्पन्न भएको तथा स्किम–१ र स्किम–२ अन्तर्गत ५८ करोड ७४ लाख ७७ हजार ५२५ रुपियाँ भुक्तानीसमेत दिइसकिएको छ । निर्माण कम्पनी मृत सञ्जीवनी एचएम ज्वाइन्ट भेन्चरका ठेकेदार करुण श्रेष्ठसँग सम्पर्क गर्दा उहाँले योजना विकट ठाउँमा भएकाले निर्धारित समयमा काम सम्पन्न गर्न आफूलाई निकै मुस्किल परेको, व्यक्ति विशेषले पाइप लाइन खन्न जग्गा दिनमा किचलो गर्ने गरेको र निर्माण सामग्री ढुवानी गरेर लैजान सडकको पहुँच पनि नभएकाले काम गर्न कठिन भएको बताउनुभयो । उहाँले सोही योजनाको सामग्रीलिन छिमेकी मुलुक चीन जान लागेकाले अब केही दिनपछि धमाधम काम सुरुगर्ने बताउनुभयो ।












प्रतिक्रिया