भोटेकोशी बाढीपीडितका लागि ताप्ली गाउँपालिकाको १९ लाख ४० हजार सहयोग

1.03k
Shares

उदयपुर । 

उदयपुरको ताप्ली गाउँपालिकाले भोटेकोसी बाढी पीडितकालागि प्रधानमन्त्री राहत कोषमा १९ लाख ४० हजार ८२७ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। भोटेकोशी बाढी पीडित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि गाउँपालिकाले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो ।
 
गाउँ कार्यपालिकाको भदौ १७ गते बसेको बैठकको निर्णय अनुसार प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्दै स्थानीय विपद् कोषबाट ५ लाख रुपैयाँ, जनप्रतिनिधिहरूको तर्फबाट १ लाख ६५ हजार ५०० रुपैयाँ, गाउँपालिकामा कार्यरत कर्मचारीबाट ५ लाख ६६ हजार ३६० रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ । गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्मा र प्रमुख प्रशासकीय अधिकृत सन्तोष भट्टराईद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा गाउँपालिका अन्तर्गतका विद्यालयका शिक्षक तथा कर्मचारीबाट ७ लाख ८ हजार ९६७ रुपैयाँ सङ्कलन गर्ने निर्णय गरी १९ लाख ४० हजार ८२७ रुपैयाँ प्रधानमन्त्री दैविक उद्धार कोषमा जम्मा गर्ने उल्लेख छ । 

विपद्को यस कठिन घडीमा सहयोग, समन्वय, ऐक्यबद्धता र सामूहिक हातेमालोका लागि देश–विदेशमा रहेका नेपाली, जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न संघसंस्थालाई सहयोगका लागि आह्वान गरिएको जानकारी अध्यक्ष ढुंगराज विश्वकर्माले जानकारी दिनु भयो । 

विज्ञप्तिमा भदौ १० गते रसुवा जिल्लाको सीमा क्षेत्र रसुवागढी तथा तल्लो तटीय क्षेत्र भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।