म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाती पक्राउ


म्याग्दी।

बेनी नगरपालिका–२, खबरा निवासी ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका नाती पक्राउ परेका छन्।

प्रहरीका अनुसार मनकुमारीलाई उनकी छोरीका छोरा अन्दाजी २६ वर्षीय आशिष बरुवालले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटना सोमबार बिहान करिब ११ः३० बजे भएको बताइएको छ।

घटना लगत्तै बरुवाल फरार भएका थिए। घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १५ जनाको प्रहरी टोली परिचालन गरी खोजतलास थालिएको थियो।

खोजी गर्ने क्रममा प्रहरीले बरुवाललाई बेनी नगरपालिका–२ स्थित हाडेभिरमा भाग्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाउनुका साथै घटनास्थलबाट आवश्यक प्रमाण संकलन गर्ने कार्य भइरहेको जनाएको छ। घटनाको कारण तथा हत्या गर्न प्रयोग गरिएको हतियारलगायत विषयमा समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।