चार जिल्लाका होल्डिङ सेन्टरमा १ हजार ८ सयभन्दा बढी महिला तथा बालबालिका, हिंसा र दुव्र्यवहार रोक्न थप महिला प्रहरी परिचालन
काठमाडौँ ।
भोटेकोशी–त्रिशूली बाढीपछि विस्थापित भएर विभिन्न होल्डिङ सेन्टरमा पुगेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा अहिले थप संवेदनशील बनेको छ । घरबार, आफन्त र नियमित सामाजिक संरचनाबाट अलग भएर अस्थायी शिविर तथा होल्डिङ सेन्टरमा बस्नुपरेका उनीहरू विभिन्न किसिमका हिंसा, दुव्र्यवहार, शोषण तथा मानसिक तनावको जोखिममा पर्न सक्ने भन्दै नेपाल प्रहरीले विशेष सुरक्षा निगरानी बढाएको छ ।
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका महिला तथा बालबालिकाको सुरक्षाका लागि केन्द्रबाट थप महिला प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीले रसुवामा १० जना, नुवाकोटमा २९ जना र धादिङमा ७ जना महिला प्रहरी कर्मचारी थप खटाएको छ ।
प्रहरीका अनुसार राहत, उद्धार र पुनस्र्थापनाको प्रक्रियामा रहेका महिला तथा बालबालिकामाथि हुन सक्ने कुनै पनि अप्रिय घटना रोक्नु अहिलेको प्राथमिकतामध्ये एक बनेको छ । अस्थायी बसोबासको अवस्था, भीडभाड, अपरिचित व्यक्तिको आवतजावत, परिवारका सदस्यबीचको विछोड तथा विस्थापनका कारण महिला र बालबालिका थप असुरक्षित बन्न सक्ने भएकाले प्रहरीको उपस्थिति बढाइएको हो ।
पछिल्लो विवरणअनुसार रसुवा, धादिङ, नुवाकोट र काठमाडौँका होल्डिङ सेन्टरमा मात्रै महिला, बालक र बालिका गरी १ हजार ८ सय ५६ जना रहेका छन् । रसुवाको होल्डिङ सेन्टरमा १२९ महिला, २० बालक र २२ बालिका गरी १७१ जना रहेका छन् । धादिङमा १२६ महिला, २४ बालक र ३२ बालिका गरी १८२ जना छन् ।
त्यस्तै नुवाकोटको होल्डिङ सेन्टरमा सबैभन्दा धेरै प्रभावितहरू रहेका छन् । त्यहाँ ९२९ महिला, १९५ बालक र १६८ बालिका गरी १ हजार २९२ जना रहेका छन् । काठमाडौँको होल्डिङ सेन्टरमा भने १०९ महिला, ५३ बालक र ४९ बालिका गरी २११ जना रहेका छन् ।
चारवटा होल्डिङ सेन्टरको तथ्याङ्क हेर्दा महिला तथा बालबालिकाको सङ्ख्या मात्रै १ हजार ८ सय ५६ पुगेको छ । यसबाहेक ज्येष्ठ नागरिक तथा अन्य संवेदनशील समूहसमेत त्यस्ता अस्थायी आश्रयस्थलमा रहेका छन् ।
चार जिल्लामध्ये नुवाकोटको होल्डिङ सेन्टरमा विस्थापित महिला तथा बालबालिकाको सङ्ख्या सबैभन्दा धेरै छ । त्यहाँ मात्रै १ हजार २९२ महिला तथा बालबालिका रहेका छन् । ठूलो सङ्ख्यामा विस्थापित व्यक्ति एकै ठाउँमा राखिँदा खानेपानी, शौचालय, स्वास्थ्य, सरसफाइ, सुरक्षा, गोपनीयता तथा बालमैत्री वातावरण कायम राख्ने काम चुनौतीपूर्ण बन्दै गएको छ ।
विशेषगरी महिला र बालिकाका लागि सुरक्षित शौचालय तथा स्नानस्थलको व्यवस्था,रातको समयमा सुरक्षा, अपरिचित व्यक्तिको प्रवेश नियन्त्रण, परिवारबाट छुट्टिएका बालबालिकाको संरक्षण तथा गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य सेवा संवेदनशील विषय बन्न सक्छ ।
प्रहरीले सुरक्षा मात्र नभई होल्डिङ सेन्टरमा देखिएका महिला तथा बालबालिकासँग सम्बन्धित समस्या र गुनासोसमेत सम्बोधन गर्ने जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध हुन सक्ने अपराध नियन्त्रणका लागि प्रहरी संवेदनशील भएर परिचालित भइरहेको छ ।
उहाँका अनुसार होल्डिङ सेन्टरमा महिला तथा बालबालिकाविरुद्ध कुनै पनि अप्रिय घटना हुन नदिन थप प्रहरी टोली परिचालन गरिएको छ । ती टोलीले सुरक्षा व्यवस्थासँगै महिला तथा बालबालिकासँग सम्बन्धित समस्या र गुनासो सम्बोधन गर्ने तथा आवश्यक परे मनोपरामर्शसमेत उपलब्ध गराउनेछन् ।
प्राकृतिक विपत्तिका बेला घर, परिवार र सामाजिक संरचना विस्थापित हुँदा महिला तथा बालबालिका थप जोखिममा पर्न सक्ने आँकलन प्रहरीले गरेको छ ।
महिलाका लागि अस्थायी शिविरमा यौन हिंसा, दुव्र्यवहार, घरेलु हिंसा, मानव बेचबिखन तथा अन्य शोषणको जोखिमसमेत बढ्न सक्ने भएकाले सुरक्षा संयन्त्रले विशेष निगरानी आवश्यक ठानेको हो । विपद्को समयमा पीडित व्यक्ति आर्थिक तथा सामाजिक रूपमा कमजोर हुने भएकाले उनीहरूको अवस्थाको फाइदा उठाएर गैरकानुनी गतिविधि गर्ने समूह सक्रिय हुन सक्ने सम्भावनालाई समेत सुरक्षा निकायले ध्यान दिनुपर्ने हुन्छ ।












प्रतिक्रिया