देउवा र शेखरबीच भेटवार्ता, पार्टी एकताबारे छलफल


काठमाडौँ।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। कोइरालाले देउवा निवास चुनदेवी पुगेर भेट गरेका हुन्।

कोइरालाका सचिवालय सदस्य दिनेशचन्द्र थपलियाका अनुसार भेटका क्रममा कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद, पार्टीमा एकता कायम गर्ने तथा विवाद समाधानका विषयमा छलफल भएको थियो।

थपलियाका अनुसार, भेटमा दुवै नेता पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने पक्षमा देखिएका छन्। यद्यपि, पार्टीभित्रको विवाद समाधान र एकता कायम गर्न देउवा र कोइरालाको मात्रै पहल पर्याप्त नहुने उनको भनाइ छ।

“दुवै नेता पार्टी मिलाउने पक्षमा हुनुहुन्छ। तर, मिल्ने–मिलाउने कुरा उहाँहरूको मात्रै हातमा छैन। बल त सभापति गगन थापाको हातमा छ। उहाँले पहल गर्नुपर्‍यो,” थपलियाले भने।

भेटका क्रममा पूर्वसभापति देउवाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकता कायम गर्ने विषयमा सकारात्मक धारणा राखेको पनि थपलियाले बताए।

कांग्रेसभित्र संस्थापन र संस्थापनइतर पक्षबीच पछिल्लो समय विवाद देखिँदै आएको अवस्थामा देउवा र कोइरालाबीच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।