सुस्ताको बाँध बाढीले भत्कायो, बस्ती जोखिममा


काठमाडौं ।

नवलपरासीको सुस्ता गाउँपालिका–५ थारुटोलामा स्थानीयवासीले १०–१५ दिन लगाएर निर्माण गरेको बाँध बाढीले भत्काएको छ।

सुस्ता बचाउ संघर्ष समितिका संयोजक बाबु खानका अनुसार शुक्रबार रातिको बाढीले बाँध बगाएको हो। स्थानीयवासीको करिब २५–३० लाख रुपैयाँ बराबरको श्रमदानबाट निर्माण गरिएको बाँध भत्किएपछि सुस्तावस्ती नै जोखिममा परेको उनले बताए।

खानले सुस्ता जोगाउन संघीय, प्रदेश र स्थानीय सरकारले तत्काल पहल गर्न माग गरेका छन्। उनले समयमै सहयोग नपाए बस्ती जोगाउन कठिन हुने बताएका छन्।

सुस्ता नेपाल–भारत सीमा विवादित क्षेत्रसमेत हो। स्थानीयवासीले यस क्षेत्रमा भारतीय पक्षबाट सीमा अतिक्रमण हुँदै आएको दाबी गर्दै आएका छन्।