काठमाडौं।
रन्जित खड्काको शतकमा लुम्बिनी प्रदेशले जारी पीएम कपअन्तर्गत आइतबारको खेलमा जित निकालेकोे छ । लुम्बिनीले नेपाल पुलिस क्लबलाई ५० रनले हराएको हो । यो नतिजापछि दुबै टोलीको ७÷७ अंक भएको छ । लुम्बिनी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने हार बावजुद पुलिस तेस्रो स्थानमा छ।
जितको लागि २ सय ५७ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको पुलिस ४२.५ ओभरमा सबै विकेट गुमाएर २ सय ६ रनमा समेटिएको थियो । टोलीका लागि ओपनर दिनेश खरेलबाहेक अन्य खेलाडीको प्रदर्शन फितलो रहनु ने हार भउको थियो । दिनेशले १ सय ४ बल खेल्दै १० चौका र ६ छक्कासहित ९४ रन बनाएका थिए । लुम्बिनीको बलिङमा अजय चौहानले ९ ओभरमा १ मेडनसहित ३८ रन दिएर ४ विकेट लिए । देव खनालले ३ विकेट लिएका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ४९.५ ओभरमा सबै विकेट गुमाएर २ सय ५६ रन बनाएको थियो । टोलीका लागि ओपनर रन्जितले शतकीय पारी खेले । उनले १ सय २८ बल खेलेर १३ चौका र ३ छक्कासहित १ सय २८ रन बनाए । योसँगैं पएिम कपको इतिहासमा लुम्बिनीका लागि शतक बनाउने उनी पहिलो खेलाडीसमेत बने । बलिङमा पुलिसका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिँदा रसिद खान र दिनेश खरेलले समान २ विकेट लिए ।
हेमन्तले लिए ७ विकेट
हेमन्त धामीले ७ विकेट लिएपछि बागमती प्रदेश ४६ रनमै अलआउट भएको थियो । योसँगैं सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई १ सय ६३ को फराकिलो रनअन्तरले पराजित ग¥यो । यो जितसँगै सुदूरपश्चिम अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
२ सय १० रनको लक्ष्य पछ्याएको बागमती ११.२ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमै रोकिएको थियो । टोलीका लागि ओपनर शुभ कंसाकारले २५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ३२ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । टोलीले ५ रन अतिरिक्त पाउँदा बाँकी १० खेलाडीले जम्मा ९ रन मात्र बनाउन सके ।
हेमन्तको घातक बलिङ सामना गर्न नसक्दा बागमतीका ५ खेलाडी शून्यमा आउट भएका थिए । उनले ६ ओभरमा २ मेडन राख्दै १४ रन खर्चेर ७ विकेट लिएका थिए । प्रतियोगितामा उनी २१ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्षस्थानमा समेत पुगे । शेर मल्लले २ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४२.१ ओभरमा सबै विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो । टोलीका लागि नारायण जोशीले सर्वाधिक ७५ रनको योगदान दिएका थिए । उनले आठौं नम्बरमा ब्याटिङ गरेका थिए । ओपनर अभिषेक पालले ३९ रन र दीपक बोहराले ४० रन बनाए । बागमतीका लागि प्रतिश जिसीले ९ ओभर १ बलमा २६ रन खर्चेर ४ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३२ रन दिएर ४ विकेट लिए ।
सुदूरपश्चिमले ६ खेलबाट १० अंक जोडेको छ । एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब ५ खेलबाट ९ अंकसहित दोस्रो स्थानमा छ । बागमतीको भने यो प्रतियोगितामा चौथो हार हो । ६ खेलबाट ४ अंक जोडेको बागमती आठौँ स्थानमा छ ।











प्रतिक्रिया