काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्ष शालीग्राम सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आर्थिक वर्ष २०७६–०७७ मा ‘बायो शौचालय’ खरिद कार्यमा वदनियतपूर्वक आपसी मिलेमतोमा भुक्तानीसमेत दिइ भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरू विरुद्ध आरोप–पत्र दायर गरेको हो ।
आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालीन अध्यक्ष सिंह, तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुर, तत्कालीन प्रशासकीय अधिकृत चिरञ्जिविराज शर्मा ढुंगाना, तत्कालीन लेखापाल सावित्री कुमारी गिरी र तत्कालीन खरिदार मदन कुमार चौधरी सूडीविरुद्ध ५५ लाख २ हजार ८५४ रुपैयाँ हिनामिना गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उनीहरु सबैलाई समान ५५ लाख २ हजार ८५४ रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र बिगो असुलउपरको माग दाबी गरिएको छ । मुद्दामा ईशिता ट्रेडर्स तथा त्यसका प्रोपाइटर पशुपति नाथ पाठकलाई पनि प्रतिवादी बनाएको छ ।
अख्तियारको अनुसन्धानले परिषद्का पदाधिकारी र ठेकेदारबीचको मिलेमतोमा सार्वजनिक खरिद ऐनलाई पूर्ण रूपमा बेवास्ता गरिएको औँल्याएको छ । खरिदपूर्व तयार गर्नुपर्ने स्पेसिफिकेसन र लागत अनुमान नै नबनाई सीधै खरिद प्रक्रिया अघि बढाइएको अख्तियारको दाबी छ ।











प्रतिक्रिया