भूतपूर्व सैनिक सम्मेलन–२०८२ सुरु, बुटवलमा पहिलो चरण उद्घाटन


काठमाडौं ।

भूतपूर्व सैनिकहरूको पुनर्मिलन, कल्याण र कोषको दिगोपनलाई केन्द्रमा राख्दै ‘भूतपूर्व सैनिक सम्मेलन–२०८२’ सुरु भएको छ।

लुम्बिनी प्रदेशअन्तर्गत विभिन्न जिल्लामा एकसाथ सञ्चालन भइरहेको पहिलो चरणको सम्मेलनको उद्घाटन आइतबार बुटवलस्थित मध्यपश्चिम पृतना मुख्यालयमा प्रधान सेनापति अशोकराज सिग्देलले गरेका हुन्।

अवकाशप्राप्त सैनिकहरूसँग निरन्तर सम्पर्क कायम राख्ने, उनीहरूका राय–सुझाव संकलन गरी सेवा–सुविधामा गुणात्मक सुधार ल्याउने तथा कोषको स्थायित्व र दिगोपन सुनिश्चित गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको नेपाली सेनाले जनाएको छ। साथै, अवकाशपछिको जीवनलाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने लक्ष्य पनि राखिएको छ।

सम्मेलनमा भूतपूर्व सैनिकहरूको सहभागितामा मार्चपास्टसहित विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।

नेपाली सेना कल्याणकारी बोर्डको समन्वयमा आयोजित कार्यक्रममा ज्येष्ठ भूतपूर्व सैनिक तथा ज्येष्ठ एकल महिलालाई सम्मान गर्नुका साथै उत्कृष्ट उद्यमीहरूलाई प्रशंसापत्र र पुरस्कार प्रदान गरिएको थियो। सोही अवसरमा फरक क्षमता भएका तथा अशक्त १८ जना भूतपूर्व सैनिकलाई व्हिलचेयर र बैसाखी वितरण गरिएको छ।

तीन चरणमा सञ्चालन हुने यस वर्षको सम्मेलनअन्तर्गत दोस्रो चरण चैत २५ गते पश्चिम पृतनाअन्तर्गतका जिल्लाहरूमा र तेस्रो चरण वैशाख ३ र ४ गते मध्यपूर्वी पृतनाअन्तर्गतका जिल्लाहरूमा आयोजना गरिने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।