काठमाडौँ
गरिमा विकास बैंक लिमिटेडको प्रवद्र्धन तथा गरिमा क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धक र व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोष “गरिमा म्युचुअल फण्ड” अन्तर्गत पहिलो खुलामुखी योजना “गरिमा सुवर्ण योजना” को इकाई बाँडफाँट सम्पन्न भएको छ ।
प्रतिइकाई मूल्य १० रुपियाँ दरका कुल १० करोड इकाईमध्ये पहिलो चरणमा ५ करोड इकाई २०८२ फागुन २८ गतेदेखि चैत ११ गतेसम्म सार्वजनिक रूपमा निष्कासन तथा बिक्री खुला गरिएको थियो ।
उक्त अवधिमा बीज पूँजीसहित १ लाख ६ हजार ७९४ आवेदकबाट ७१ करोड ५७ लाख ८३ हजार २ सय रुपियाँ बराबरको ७ करोड १५ लाख ७८ हजार ३ सय २० इकाई खरिदका लागि आवेदन परेको थियो, जुन मागभन्दा बढी हो ।
प्राप्त आवेदनमध्ये १ सय ७० आवेदकका ४१ हजार इकाईका आवेदन नियमअनुसार नभएकाले अस्वीकृत गरिएका छन् । बाँकी १ लाख ६ हजार ६ सय २४ आवेदकबाट ७१ करोड ५३ लाख ७३ हजार २ सय रुपैयाँ बराबरको ७ करोड १५ लाख ३७ हजार ३ सय २० इकाईका लागि रीतपूर्वक आवेदन परेको थियो । सोही अनुसार चैत २२ गते आइतबार बिहान ९ बजे कमलपोखरीस्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालयमा बसेको बैठकले मागअनुसार नै इकाई बाँडफाँट गरेको हो ।
नेपाल धितोपत्र बोर्डबाट १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई निष्कासन गर्न स्वीकृति प्राप्त भएको यस योजनामा पहिलो चरणमा ५ करोड इकाईका लागि मात्र आवेदन माग गरिए पनि योग्य सबै आवेदकलाई मागअनुसार नै इकाई वितरण गरिएको जनाइएको छ ।
खुलामुखी योजना भएकाले यसका इकाईहरू नेपाल स्टक एक्सचेञ्जमार्फत किनबेच गर्न नमिल्नेछ। बाँडफाँट भएको मितिले तीन महिनापछि नियमित खरिद–बिक्री (सिप प्रणालीसमेत) सुरु गरिने जानकारी दिइएको छ । साथै, यस निष्कासन कार्यमा सहयोग गर्ने सम्बन्धित सबै निकाय, संस्था तथा आवेदकप्रति कृतज्ञता व्यक्त गरिएको छ ।











प्रतिक्रिया