सेवाग्राहीलाई दुःख दिँदै अनुचित लाभ लिने ५ जना नियन्त्रणमा

2.26k
Shares

रौतहट। 

 रौतहटको गौर क्षेत्रमा विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीलाई अनावश्यक झन्झट दिँदै अनुचित लाभ लिने कार्यमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार करिब दिउँसो १२:०० बजेको समयमा गौर नगरपालिका वडा नं. ४ स्थित बसपार्क, वडा नं. ३ स्थित जिल्ला अदालत तथा वडा नं. ५ स्थित मालपोत कार्यालय लगायतका स्थानहरूमा सेवाग्राहीलाई छिटो काम गरिदिने बहानामा हैरानी दिने, कागजात बोकी विभिन्न फाँटमा पुग्ने र सो वापत रकम असुल गर्ने गतिविधि भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार नियन्त्रणमा पर्नेहरूमा यमुनामाई गाउँपालिका वडा नं. २ का करिब २८ वर्षीय सिकित नारायण, राजदेवी नगरपालिका वडा नं. ७ का २४ वर्षीय बब्लु प्रसाद यादव, सोही स्थानका ३० वर्षीय श्याम बिहारी यादव, परोहा नगरपालिका वडा नं. ७ का ३९ वर्षीयह रामनरेश प्रसाद पटेल र गौर नगरपालिका वडा नं. ८ का ६० वर्षीय राजेन्द्र राउत बरै रहेका छन्।

उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक जीवन मैनालीले बताए।