सर्लाही।
सर्लाहीको गोडैता नगरपालिका–६ बगदहस्थित श्री महालक्ष्मी चिनी उद्योगले सिजन सकिनुअघि उद्योग बन्द गर्ने निर्णय गरेपछि स्थानीय उखु किसानले आपत्ति जनाएका छन्।
उद्योगका अनुसार केही किसानहरूले सुकेको, वासी तथा सफा नगरी काटिएको उखु बलजबरजस्ती खरिद गराउन दबाब दिँदै आएको कारण उद्योग बन्द गर्ने निर्णयमा पुगेको हो। यस्तो उखुले चिनीको ‘सुगर रिकवरी’मा ठूलो गिरावट ल्याउँदा उद्योग दैनिक लाखौँ रुपैयाँ घाटामा गएको उद्योगले जनाएको छ।
हाल उद्योगले दैनिक १६ देखि १८ हजार क्विन्टल उखु क्रसिङ गर्दै आएको भए पनि ल्याइने उखुमध्ये करिब ८० प्रतिशतभन्दा बढी सुकेको, वासी तथा एकदेखि डेढ महिनाअघि काटिएको रहेको उद्योगको दाबी छ। यसका कारण चिनी उत्पादनमा समेत गिरावट आएको छ।
नेपाल सरकारको मापदण्डअनुसार उखुको सुगर रिकवरी ९ प्रतिशत हुनुपर्नेमा उद्योगमा ल्याइने अधिकांश उखुको रिकवरी ३ देखि ४ प्रतिशत मात्र रहेको जनाइएको छ। रिकवरी कम भएका कारण उद्योगले किसानलाई भुक्तानी गर्न समेत कठिनाइ भएको बताएको छ।
उद्योगका उखु महाप्रबन्धक राजेश सिंहलका अनुसार उद्योगले दैनिक ३० देखि ३५ लाख रुपैयाँसम्म घाटा व्यहोर्नुपरेको छ। “यस्तो अवस्थामा उद्योग सञ्चालन गर्न सम्भव छैन,” उनले भने। उनले उद्योगको रिजर्भ क्षेत्रमा रहेका उखु खरिद भइरहेको र किसानलाई सफा तथा ताजा उखु ल्याउन आग्रह गरेका छन्।
उता गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले उद्योगले आफ्नो रिजर्भ क्षेत्रमा रहेका किसानको उखु खरिद नगरी बन्द गर्न लाग्नु गलत भएको बताए। “अन्य जिल्लाबाट आएको उखु खरिद गर्ने जिम्मेवारी स्थानीय उद्योगको होइन,” उनले स्पष्ट पारे।
उनका अनुसार उद्योग, किसान र प्रशासनबीच छलफल भइसकेको छ। अब किसानको सर्वे गरी उद्योगको क्षेत्रमा रहेका किसानलाई पुर्जी वितरण गरेर मात्र उखु खरिद गरिने व्यवस्था मिलाइनेछ।

स्थानीय किसान बुधो महतोका अनुसार अन्य उद्योगले फिर्ता पठाएको तथा धेरै दिनअघि काटिएको उखु उद्योगमा ल्याएर जबर्जस्ती तौल गराउने प्रयासले विवाद सिर्जना भइरहेको छ। यसले वास्तविक किसानले ल्याएको ताजा उखु समयमै बिक्री गर्न समस्या भएको उनले गुनासो गरे।
यस्तै विवादका कारण उखु तौलमा ७–८ घण्टासम्म ढिलाइ हुने र लाइनमा रहेका किसान पछाडि पर्ने गरेका छन्। किसानहरूले ताजा, सफा र गुणस्तरीय उखु मात्र ल्याउनुपर्नेमा जोड दिएका छन्।
उद्योग प्रशासनले भने आफ्नो रिजर्भ क्षेत्रमा रहेको उखु करिब एक हप्तादेखि १० दिनसम्म मात्र चल्ने र बाहिरबाट ल्याइने गुणस्तरहीन उखुले समस्या बढाएको जनाएको छ। वर्तमान अवस्था कायम रहे सिजन सकिनुअघि नै उद्योग बन्द गर्न बाध्य हुने चेतावनी उद्योगले दिएको छ।











प्रतिक्रिया