सरकारी विज्ञापन नीति विरुद्ध चलचित्र पत्रकार संघ नेपालको आपत्ति


काठमाडौं ।

चलचित्र पत्रकार संघ नेपालले सरकारले हालै सरकारी विज्ञापन केवल सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रवाह गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। संघले उक्त निर्णयले निजी तथा सामुदायिक सञ्चारमाध्यममाथि प्रत्यक्ष असर पार्ने र अभिव्यक्ति स्वतन्त्रता कमजोर बनाउने ठहर गरेको छ।

संघका अनुसार यस्तो नीति खुला र प्रतिस्पर्धात्मक सूचना प्रणालीलाई सीमित गर्दै लोकतान्त्रिक मूल्य मान्यतामाथि प्रहार गर्ने खालको छ। निजी सञ्चारमाध्यमहरूले स्थानीय तहसँग सहकार्य गर्दै सुशासन, पारदर्शिता र विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै संघले यस निर्णयले ती प्रयासहरूमा नकारात्मक असर पार्ने जनाएको छ।

संघले संविधान र संघीय संरचनासँग बाझिने यस्ता निर्णयहरू पुनर्विचार गरी तुरुन्त सच्याउन सरकारसँग माग गरेको छ। महासचिव रघुनाथ सापकोटाद्वारा जारी प्रेस वक्तव्यमा प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि सरकारलाई निर्णय फिर्ता लिन आग्रह गरिएको छ।