मिडियाको घाँटी निमोठ्ने सरकारी निर्णयले प्रेस स्वतन्त्रता संकटमा

लोकतन्त्रको चौथो अंगप्रति कठोर प्रहार

1.32k
Shares

–सरकारी विज्ञापन सीमित गर्ने निर्णयविरुद्ध आन्दोलनको चेतावनी
–सरकारी मिडियामा मात्र विज्ञापन दिने निर्णयले स्वतन्त्र पत्रकारिता मृतप्रायः अवस्थामा पुग्ने

काठमाडौं ।

सरकारले निजी सञ्चार माध्यमको आर्थिक आधार नै कमजोर पार्ने गरी सरकारी विज्ञापन तथा सूचना अब सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय गरेपछि देशभरको प्रेस क्षेत्र तरंगित बनेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी परिपत्रमा अबदेखि सार्वजनिक निकायहरूले आफ्ना सूचना तथा विज्ञापन गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रवाह गर्नुपर्ने उल्लेख गरिएको छ ।

सरकारले यसलाई मितव्ययी, एकरूपता र पारदर्शिताको नाम दिएको भए पनि सञ्चार क्षेत्रले भने यसलाई निजी मिडियाको घाँटी निमोठ्ने, आलोचनात्मक पत्रकारितालाई कमजोर बनाउने र प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने प्रयासका रूपमा लिएको छ । निर्णय कार्यान्वयनमा गए हजारौं निजी सञ्चार संस्था, रेडियो, टेलिभिजन, अनलाइन र पत्रपत्रिकासँगै हजारौं पत्रकार, प्राविधिक, छायाँकार, मुद्रक र कर्मचारी प्रत्यक्ष संकटमा पर्ने देखिएको छ ।

नेपालमा सञ्चार माध्यम सञ्चालनको मुख्य आधार विज्ञापन हो । निजी क्षेत्रबाट आउने विज्ञापन सीमित रहेको र आर्थिक मन्दीका कारण त्यसमा समेत कमी आएको अवस्थामा सरकारी विज्ञापन धेरै मिडियाका लागि जीवनरेखा बनेको छ । विशेषगरी मोफसलका साना पत्रपत्रिका, स्थानीय एफएम, क्षेत्रीय टेलिभिजन र अनलाइन मिडिया सरकारी सूचना र विज्ञापनकै भरमा टिकिरहेका छन् । यस्तो अवस्थामा सरकारले एकैचोटि विज्ञापन बन्दजस्तै गर्ने निर्णय गर्नु भनेको निजी सञ्चार क्षेत्रलाई योजनाबद्ध रूपमा कमजोर बनाउने कदम भएको मिडिया क्षेत्रको निष्कर्ष छ ।

सञ्चार विज्ञहरूका अनुसार यो निर्णयले तत्काल तीन तहमा गम्भीर असर पार्नेछ । पहिलो, आर्थिक रूपमा निजी मिडियाको अस्तित्व संकटमा पर्नेछ । दोस्रो, सरकारी मिडियाबाट मात्र सूचना प्रवाह हुँदा सूचनामा विविधता हराउनेछ र जनताले एउटै पक्षको मात्र सूचना सुन्ने वा पढ्ने अवस्था बन्नेछ । तेस्रो, सरकारको आलोचना गर्ने वा भ्रष्टाचार, अनियमितता र कमजोरी उजागर गर्ने स्वतन्त्र पत्रकारिता क्रमशः कमजोर बन्दै जानेछ ।

सरकारको निर्णयको सबैभन्दा खतरनाक पक्ष यहीँ देखिन्छ— जसले सरकारको प्रशंसा गर्छ, उसले मात्र विज्ञापन पाउने; जसले प्रश्न उठाउँछ, उसले आर्थिक सजाय भोग्नुपर्ने । यसले भविष्यमा कुनै पनि मिडियालाई स्वतन्त्र ढंगले सरकारको आलोचना गर्न डर पैदा गराउन सक्छ । विज्ञापनको नाममा आर्थिक दबाब सिर्जना गरी मिडियालाई नियन्त्रण गर्ने प्रयास लोकतान्त्रिक शासन प्रणालीमा सबैभन्दा खतरनाक प्रवृत्तिमध्ये एक मानिन्छ ।

नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायतका संस्थाहरूले सरकारको निर्णयलाई ‘अलोकतान्त्रिक’, ‘प्रेसविरोधी’ र ‘अस्वीकार्य’ भन्दै तत्काल सच्याउन माग गरेका छन् ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले निर्णय तत्काल फिर्ता नभए देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ । प्रेस युनियन र प्रेस चौतारीले समेत संयुक्त रूपमा सरकारलाई निर्णय सच्याउन अल्टिमेटम दिएका छन् । प्रेससम्बद्ध संगठनहरूबीच दुर्लभ रूपमा देखिएको यस्तो एकता स्वयम्मा निर्णयको गम्भीरताको संकेत मानिएको छ ।

पत्रकार संगठनहरूका अनुसार सरकारले निर्णय नसच्याए चरणबद्ध आन्दोलनलगायतका संयुक्त अभियान चलाइनेछ । कतिपयले यसलाई ‘लोकतन्त्रमा आपतकालीन मानसिकता’ को संकेतका रूपमा समेत व्याख्या गरेका छन् ।

विश्लेषकहरू भन्छन्, यो निर्णयले भविष्यमा अझ ठूलो र खतरनाक उदाहरण बसाल्न सक्छ । आज सरकारी विज्ञापन रोक्ने निर्णय भयो भने भोलि सरकारले मन नपरेका मिडियालाई अन्य बहानामा थप नियन्त्रण गर्न सक्छ । सरकारी सूचना नदिने, पहुँच बन्द गर्ने, कानुनी दबाब बढाउने र अन्ततः आलोचनात्मक पत्रकारिता नै समाप्त पार्ने वातावरण बन्न सक्छ । त्यसपछि बाँकी रहनेछ केवल सरकारको पक्ष बोल्ने, प्रश्न नगर्ने र आलोचना गर्न नसक्ने सञ्चार प्रणाली ।

यो प्रवृत्ति लोकतन्त्रका लागि घातक हुन्छ । लोकतन्त्र केवल चुनावले मात्र चल्दैन, स्वतन्त्र प्रेस, फरक विचार र सरकारमाथि निरन्तर निगरानी गर्ने संस्थाहरूले त्यसलाई जीवित राख्छन् । जब स्वतन्त्र प्रेस कमजोर हुन्छ, तब भ्रष्टाचार, अनियमितता र शक्ति दुरुपयोग बढ्न थाल्छ । किनभने सरकारलाई प्रश्न गर्ने, पर्दाफास गर्ने र जनतालाई सचेत गराउने माध्यम नै कमजोर पारिन्छ ।

विकसित लोकतान्त्रिक मुलुकहरूमा भने सरकारी विज्ञापनलाई कुनै पनि हालतमा नियन्त्रणको हतियार बनाइँदैन । अमेरिका, बेलायत, युरोपेली मुलुक र भारतमा सरकारी विज्ञापन वितरण खुला, प्रतिस्पर्धात्मक र मापदण्डमा आधारित हुन्छ । त्यहाँ सरकारी र निजी दुवै मिडियाले समान अवसर पाउँछन् । उद्देश्य सूचना सबै नागरिकसम्म पु¥याउनु हुन्छ, कुनै मिडियालाई पुरस्कार वा सजाय दिनु होइन ।

छिमेकी भारतमा समेत सरकारी विज्ञापन सरकारी र निजी दुवै सञ्चार माध्यममा स्पष्ट मापदण्डका आधारमा वितरण हुन्छ । तर, नेपालमा भने उल्टो बाटो रोजिएको भन्दै मिडिया क्षेत्रले चिन्ता व्यक्त गरेको छ । सामाजिक सञ्जालमाथि नियन्त्रण गर्ने प्रयास गर्दा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्थ हुन पुगेको थियो ।

त्यही सामाजिक सञ्जालमाथि प्रतिबन्ध वा नियन्त्रणका प्रयासको विरोध गर्दै बनेको राजनीतिक माहोलबाट सत्तामा पुगेको सरकारले अहिले स्वयं आलोचना सुन्न नसक्ने मानसिकता देखाएको टिप्पणी हुन थालेको छ । जनताको आवाज उठाउने, सरकारलाई सचेत गराउने र लोकतन्त्रको रक्षा गर्ने मिडियालाई कमजोर पारेर कुनै पनि सरकार लामो समयसम्म टिक्न सक्दैन भन्ने चेतावनीसमेत बढ्न थालेको छ ।

मिडिया क्षेत्रका जानकारहरूका अनुसार समाधानको बाटो स्पष्ट छ । सरकारी विज्ञापन वितरणका लागि स्वतन्त्र र निष्पक्ष संयन्त्र बनाइनुपर्छ । सरकारी तथा निजी दुवै मिडियालाई समान अवसर दिनुपर्छ । विज्ञापन वितरण स्पष्ट मापदण्ड, पहुँच, पाठक–दर्शक संख्या, विश्वसनीयता र प्रभावकारिताका आधारमा हुनुपर्छ । राज्यले आफ्ना सञ्चार माध्यमलाई सहयोग गर्न सक्छ, तर त्यसका लागि निजी मिडियाको घाँटी निमोठ्ने अधिकार कसैलाई छैन ।

अहिलेको निर्णय सच्याइएन भने यसको असर केवल केही सञ्चार गृह बन्द हुनुमा सीमित रहने छैन । यसले हजारौं पत्रकार बेरोजगार बन्ने, गाउँ–गाउँका स्थानीय मिडिया बन्द हुने, नागरिकले फरक विचार सुन्न नपाउने र अन्ततः लोकतन्त्रको चौथो अंग नै कमजोर हुने अवस्था सिर्जना गर्नेछ । त्यसपछि इतिहासले यो निर्णयलाई खर्च बचाउने उपायका रूपमा होइन, प्रेस स्वतन्त्रता र लोकतन्त्रलाई कमजोर बनाउने ठूलो भुलका रूपमा सम्झिनेछ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने षड्यन्त्र
निर्मला शर्मा
अध्यक्ष
नेपाल पत्रकार महासंघ

दुई तिहाइ सरकारको पहिलो प्रहार मिडियामाथि र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने मनसाय देखियो । निजी सञ्चार माध्यममाथि सरकारी विज्ञापन रोकेर प्रहार गरेको छ । हामीसँग सामान्य छलफल पनि भएको छैन । यो खालको निर्णय लोकतन्त्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अंकुश लगाउने षड्यन्त्र हो ।

नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ । निजी सञ्चार माध्यमहरूको लोकतन्त्र ल्याउनका लागि ठूलो भूमिका छ, सरकारले यो निर्णय सच्याउनु जरुरी छ । अन्यथा महासंघ देशव्यापी आन्दोलनमा उत्रने छ ।


प्रेस स्वतन्त्रता संकुचित गर्ने कुत्सित अभिप्राय
शिव लम्साल
अध्यक्ष
नेपाल प्रेस युनियन

निजी सञ्चार माध्यमहरूलाई कमजोर पार्ने र बन्द गराउने सरकारी उद्देश्य देखिन्छ । सरकारको यो कदमले प्रेस स्वतन्त्रता संकुचित गर्ने र नियन्त्रण गर्ने कृत्सित अभिप्राय देखिन्छ । यो लोकतन्त्रका लागि खतरनाक विषय हो ।

निर्णय फिर्ता नलिए त्यो महँगो सावित हुनेछ
गणेश पाण्डे
अध्यक्ष
प्रेस चौतारी नेपाल

सरकारको यस प्रेसविरोधी, अलोकतान्त्रिक तथा निरंकुश प्रवृत्तिबाट प्रेरित निर्णयको कडा भत्र्सना गर्छौं । यस निर्णयले सयौं सञ्चार संस्था बन्द हुने र हजारौं सञ्चारकर्मीको रोजगारी र पेसागत अस्तित्वमाथि गम्भीर संकट उत्पन्न गर्नेछ । यो निर्णय फिर्ता नलिए त्यो महँगो सावित हुनेछ ।

लोकतन्त्र र संघीयतामाथिकै प्रहार
अर्जुन गिरी
अध्यक्ष
सामुदायिक रेडियो प्रसारक संघ
सरकारको यो कदम ‘पुरातन र संकुचित’ सोचको उपज हो । लोकतन्त्र र संघीयताको आधारभूत मर्ममाथि नै प्रहार हो ।
आधुनिक र लोकतान्त्रिक समाजमा सूचना तथा विज्ञापन प्रवाहलाई खुला र प्रतिस्पर्धी बनाउनुपर्नेमा सरकारले ‘सिन्डिकेट’ शैली अपनाएको छ ।

हिजो लोकतन्त्र प्राप्तिका लागि पत्रपत्रिका, रेडियो र टेलिभिजनले खेलेको अहम् भूमिकालाई अवमूल्यन गर्दै सरकारले ल्याएको यो नीति प्रत्युत्पादक हुने देखिन्छ । सञ्चार क्षेत्र पहिले नै नाजुक अवस्थामा रहेका बेला राज्यले अभिभावकत्व ग्रहण गर्नुको साटो झन् अप्ठ्यारोमा पार्ने काम गरेको छ ।

मिडियामाथि छुरा प्रहार
बालकृष्ण बस्नेत
पूर्वअध्यक्ष
प्रेस काउन्सिल नेपाल

पत्रपत्रिकासहित निजी सञ्जार माध्यमलाई सरकारी विज्ञापन नदिनु भनेको मिडियामाथि छुरा प्रहार हो । यसले अन्ततः गोरखापत्र र सरकारी मिडियाबाहेक अरू कुनै मिडियालाई बचाउन सक्दैन । यो निर्णयले मिडियामाथि आर्थिक नाकाबन्दी गरेको छ, लोकतन्त्र र संविधानले सुनिश्चित गरेका प्रकाशन र सूचनासम्बन्धी हक नै खारेज गरेको छ ।

यो निर्णय अलिकति पनि कार्यान्वयन भए सरकारी मिडियाबाहेक देशभरका झन्डै ८ सय पत्रपत्रिका, सयौं संख्याका सामुदायिक रेडियो बन्द हुन्छन् ।

अन्य संघसंस्थाको पनि कडा विरोध
सञ्चार उद्योगलाई सरकारी नियन्त्रण र अंकुश लाग्न पुगेको छ

सुदीप थापा
अध्यक्ष
नेपाल विज्ञापन संघ

अन्तर्राष्ट्रिय रुपमा स्थापित र नेपालमा पनि औद्योगिक स्वरुप धारण गरिसकेको विज्ञापन तथा सञ्चार उद्योगलाई सरकारी नियन्त्रण र अंकुश लाग्न पुगेको छ ।

सबै विज्ञापन सरकारी माध्यममा मात्र गर्नाले विज्ञापनको लक्ष्य हासिल हँुदैन भन्ने विश्वास यस संघ गर्दछ । यस किसिमको व्यवस्थाले विभिन्न सरकारी निकायहरुको सार्वजनिक हितका विषय र प्रवद्र्धनात्मक सन्देशहरुलाई समेत प्रत्यक्ष असर पु¥याउँछ । हामी सरकारले यो निर्णय परिमार्जन गर्छ भन्ने अपेक्षामा छौं ।

केन्द्रले स्थानीय तहलाई हस्तक्षेप गर्न मिल्दैन
भीमप्रसाद ढुंगाना
अध्यक्ष
नेपाल नगरपालिका संघ

सचिव स्तरीय निर्णयबाट प्रदेश तथा स्थानीय तहको क्षेत्राधिकारमा हस्तक्षेप गर्न पाइँदैन । संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुनेछ भन्ने संविधामा नै रहेको छ ।

सरकारले सुन्दा राम्रो लाग्ने गरी सरकारको एकल कोषबाट सूचना प्रसारण गर्न खोजेजस्तो देखिए पनि सचिवस्तरीय निर्णयबाट प्रदेश तथा स्थानीय तहको क्षेत्राधिकारमा हस्तक्षेप गरेर यो गर त्यो गर भन्न मिल्दैन ।

राज्यको नियत खेदपूर्ण छ
मदनप्रसाद लम्साल
अध्यक्ष
मिडिया सोसाइटी नेपाल

सञ्चारमाध्यममा विज्ञापन दिँदा सरकारी निकायका मानिसले बदमासी गरेका विषयहरु बाहिरिएका अवस्थामा त्यसको नियन्त्रणका लागि यो सर्कुलर आएको हुनसक्छ ।

निजी क्षेत्रबाट सञ्चालित मूलधारका मिडिया बन्द हुन् भन्ने राज्यको नियत देखिन्छ । यो खेदपूर्ण निर्णय हो ।