गोल्छा ग्रुपद्वारा किओचलाई पाँच करोड सहयोग


काठमाडौँ
नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई पाँच करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

बुधबार आयोजित एक कार्यक्रममार्फत बालबालिकालाई सहज उपचार र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो। कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र किओचका संस्थापक अध्यक्ष प्रा. डा. भगवान कोइरालाबीच सहकार्यसम्बन्धी सम्झौता भएको हो ।

सहयोग हस्तान्तरण गर्दै अध्यक्ष गोल्छाले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानमा सहभागी हुन पाउँदा गर्व लागेको बताउँदै यस सहकार्य दीर्घकालीन रूपमा निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । साथै, यस पहलले बालबालिकाहरूको सहज उपचार र गुणस्तरीय स्वास्थ्य सेवा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, सहयोग रकम ग्रहण गर्दै किओचका संस्थापक अध्यक्ष कोइरालाले गोल्छा ग्रुपप्रति आभार व्यक्त गर्दै यस सहयोगले हजारौँ बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन तथा देशभर निर्माणाधीन बाल अस्पतालहरूलाई ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

हाल सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने गुरुयोजनाअन्तर्गत कोशी प्रदेशको दमक र बागमती प्रदेशको काठमाडौंमा अस्पताल सञ्चालनमा छन् । देशभरका बालबालिकालाई उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले किओच स्थापना गरिएको हो ।

नेपालको सबैभन्दा पुरानो र अग्रणी व्यावसायिक समूहमध्ये एक गोल्छा ग्रुपले औद्योगिकीकरणको सुरुवातसँगै देशको पहिलो उद्योग स्थापना गरेको इतिहास बोकेको छ । बीस हजारभन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको यस समूह सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि सक्रिय रहँदै आएको छ । टिच फर नेपाल, डिसेबल्ड न्यू लाइफ सेन्टर, रामलाल गोल्छा आँखा अस्पताल विराटनगर, श्री सरस्वती माध्यमिक विद्यालय रामग्राम–१२ नवलपरासी र नेपाल एम्बुलेन्स सेवा लगायत संस्थाहरूसँग दशकौँदेखि सहकार्य गर्दै आएको छ ।