सन् १९८३ को त्यो घमाइलो बिहान । अष्ट्रेलियाको सिड्नीदेखि मेलबर्नसम्मको करिब ८ सय ७५ किलोमिटर लामो ‘अल्ट्राम्याराथन’ को सुरुवाती बिन्दुमा एउटा यस्तो दृश्य देखियो । जसलाई त्यहाँ उपस्थित कसैले पनि गम्भीरतापूर्वक लिएका थिएनन् । संसारभरका हट्टाकट्टा र तालिमप्राप्त धावकहरू अत्याधुनिक पोसाक र महँगा जुत्तामा सजिएर प्रतिस्पर्धाका लागि तयार रहँदा, त्यही भीडमा ६१ वर्षका एक वृद्ध किसान क्लिफ योङ देखा परे । उनको शरीरमा न त दौडने विशेष पोसाक थियो, न त खुट्टामा कुनै ब्रान्डेड स्पोट्र्स जुत्ता । उनले खेतीपातीमा लगाउने साधारण लुगा र भारी गमबुट (ग्यालोशेस) लगाएका थिए । मानिसहरूले उनलाई देखेर खिल्ली उडाए । कतिपयले त उनलाई ‘पागल’ सम्म भन्न भ्याए । आयोजकहरूले उनलाई ‘बूढो मान्छे सडकमा मर्छ’ भन्दै सुरक्षाको चिन्ता देखाएर रोक्ने प्रयास गरे । तर, क्लिफको अठोट डगमगाएन ।
दौड सुरु हुनासाथ पेशेवर धावकहरू हावाको गतिमा अघि बढे । तर, क्लिफको शैली भने सबैका लागि हाँसोको पात्र बन्यो । उनी कुनै धावकजस्तो दौडिएनन् । निकै अनौठो र भद्दा देखिने शैलीमा खुट्टा अगाडि बढाए । दर्शकहरूले उनलाई गिज्याएर ट्रयाकबाट हटाउन माग गरिरहँदा क्लिफ भने आफ्नै गतिमा मग्न थिए । तर, जब रात छिप्पिँदै गयो, तब एउटा त्यस्तो कुरा हुन थाल्यो जसले खेल जगत्को इतिहास नै बदलिदियो । नियमित र पेशेवर धावकहरूले १८ घण्टा दौडेपछि सुत्नका लागि केही घण्टा विश्राम लिन्थे । तर, क्लिफ योङलाई यो नियम बारे केही ज्ञान नै थिएन । उनी त रातभरि नसुती आफ्नो उही ढिलो तर निरन्तरको गतिमा अघि बढिरहे । जब अन्य धावकहरू निद्राबाट बिउँझन्थे, उनीहरूले ६१ वर्षका ती वृद्धलाई आफूभन्दा निकै अगाडि पाउँथे । लगातार पाँच दिन, १५ घण्टा र ४ मिनेटको अथक यात्रापछि बिहानको १ः२५ बजे क्लिफ योङले मेलबर्नको अन्तिम रेखा पार गरे ।
उनले दौड मात्र जितेनन्, दोस्रो हुने धावकभन्दा झण्डै १० घण्टा अगाडि पुगेर नयाँ विश्व कीर्तिमान समेत कायम गरे । उनले वर्षौंदेखि वर्षा र हिलोमा भेडा लखेट्दा विकास गरेको त्यो खुट्टा घिसार्दै कूद्ने शैली नै वास्तवमा ऊर्जा बचाउने र शरीरलाई नथकाई लामो दूरी पार गर्ने सबैभन्दा प्रभावकारी तरिका प्रमाणित भयो । उनको त्यो अप्रत्याशित जितले सारा अष्ट्रेलिया र विश्वलाई नै अचम्मित पारिदियो । मानिसहरूले जुन शैली र उमेरलाई कमजोरी ठानेका थिए, त्यही नै उनको सफलताको मुख्य हतियार बन्यो । त्यतिमात्र होइन, उनको महानता तब अझ प्रष्ट भयो, जब उनलाई पुरस्कार स्वरूप १० हजार डलर प्रदान गरियो । उनले आफू पैसाका लागि नदौडेको भन्दै त्यो सम्पूर्ण रकम अन्य धावकहरूलाई बाँडिदिए । जसले गर्दा उनी रातारात अष्ट्रेलियाको ‘फोक हिरो’ बन्न पुगे ।
“कछुवा र खरायो” को कथालाई चरितार्थ गर्दै प्राप्त गरेको त्यो अभूतपूर्व सफलतापछि क्लिफ योङको लोकप्रियता एकाएक चुलियो । जसको सम्मानस्वरूप सोही वर्ष भिक्टोरियाको कोलाकमा ‘क्लिफ योङ अष्ट्रेलियन सिक्स–डे रेस’ को स्थापना गरियो । सन् १९८४ मा लामो दूरीको दौडमा पु¥याएको विशिष्ट योगदानका लागि उनलाई ‘मेडल अफ द अर्डर अफ अष्ट्रेलिया’ बाट विभूषित गरियो । दौडप्रतिको उनको मोह ७५ वर्षको उमेरमा पनि उत्तिकै ताजा थियो । जसका कारण सन् १९९७ मा उनले रन ग्रान्टको ‘अराउन्ड–अष्ट्रेलिया’ मा पनि दौड्ने साहस गरे । यद्यपि, १६ हजार किलोमिटरको उक्त विशाल दौडमध्ये ६ हजार ५ सय २० किलोमिटर पूरा गरिसकेपछि आफ्नो सहयोगी टोलीका सदस्य बिरामी परेका कारण उनले दौड बीचमै छोड्नुप¥यो । संसारबाट विदा लिनुभन्दा ३ वर्ष अघि अर्थात सन् २००० मा भिक्टोरियामा आयोजित ६ दिने दौडमा सहभागी भई उनले आफ्नो उमेर समूहमा नयाँ विश्व कीर्तिमान कायम गर्दै ८० वर्षको संघारमा पनि आफ्नो सामथ्र्य प्रमाणित गरे ।











प्रतिक्रिया