शैक्षिक सत्र अगावै विद्यार्थी भर्ना नगर्न निर्देशन


भक्तपुर ।

वार्षिक परीक्षा नसकिँदै केही निजी विद्यालयले भर्ना सुरु गरेपछि भक्तपुर नगरपालिकाले नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थी भर्ना नगर्न नगरभित्रका विद्यालयहरूलाई निर्देशन दिएको छ ।

नगरपालिकाको शिक्षा शाखाद्वारा जारी सूचनामा शिक्षा नियमावली २०७९ (संशोधनसहित) अनुसार शैक्षिक सत्र औपचारिक रूपमा सुरु नभएसम्म विद्यार्थी भर्ना गर्न नपाइने व्यवस्था रहेको उल्लेख गरिएको छ ।

सूचनामा नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूले उक्त प्रावधानको पालना गर्नुपर्ने शिक्षा शाखाका आठौँ तहका अधिकृत साधुराम फुयाँलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

नियम विपरीत भर्ना प्रक्रिया अगाडि बढाएमा कारबाही हुन सक्ने संकेत गर्दै उक्त सूचनामा नियमअनुसार मात्र भर्ना प्रक्रिया सञ्चालन गर्न आग्रह गरिएको छ ।

नगरपालिकाले यस कदमले शैक्षिक प्रणालीलाई व्यवस्थित, पारदर्शी र समान अवसरमा आधारित बनाउन सहयोग पुग्ने अपेक्षा गरेको बताईएको छ ।

जिल्लाका केही निजी विद्यालयहरूले शिक्षा नियमावली विपरीत नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया सुरु गरेका छन् ।

शिक्षा नियमावली अनुसार वार्षिक परीक्षाको नतिजा प्रकाशित भएपछि मात्र भर्ना प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था छ ।कतिपय निजी विद्यालयहरूले भने चैत महिनाभित्रै भर्ना प्रक्रिया सक्ने गरी आन्तरिक कार्यतालिका बनाएका छन् ।

नियमविपरीत भर्ना सुरु गर्ने क्रम यसअघिका वर्षमा पनि हुँदै आएका थिए । संघीय र स्थानीय सरकारले नियमावलीलाई पालना गरेर हरेक वैशाखमा मात्रै भर्ना खोल्न आग्रह गर्दै आए पनि निजी (संस्थागत) विद्यालयले यसको निरन्तर उलंघन गर्दै आएका छन् ।