इनिशा मृत्यु प्रकरण : प्रहरी प्रतिवेदन कुर्दै, परिवार भने न्यायको प्रतीक्षामा

1.03k
Shares

सुर्खेत ।

सुर्खेतकी १६ वर्षीया इनिशा विकको शव एक सातादेखि कर्णाली प्रदेश अस्पतालको शवगृहमा छ । वीरेन्द्रनगर–१ की इनिशाको मृत्युको रहस्य अझै सुल्झिन सकेको छैन भने प्रहरीको अनुसन्धान प्रयोगशालाको रिपोर्ट र आरोपितहरूको ‘पोलिग्राफ’ परीक्षणमै अल्झिएको छ ।

गत शनिवार वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी उनको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । पोस्टमार्टम रिपोर्टले शारीरिक सम्बन्धपछिको अत्यधिक रक्तस्रावलाई मृत्युको मुख्य कारण देखाए पनि परिवारले यसलाई नियोजित सामूहिक बलात्कार र हत्या दाबी गर्दै आएको छ ।

घटनाको गाम्भीर्यलाई हेर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेत सुर्खेत पुगेर जिल्ला प्रहरीसँग एकैसाथ सूक्ष्म छानबिनमा जुटेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान र घटनास्थलबाटै पक्राउ परेका १६ वर्षीय बालकको बयानले घटनालाई थप रहस्यमय बनाएको छ ।

ती बालकले इनिशासँगको शारीरिक सम्बन्धका क्रममा उनी अचेत भएपछि आत्तिएर अन्य तीन साथीलाई बोलाएको दाबी गरेका छन् । यद्यपि, पीडित परिवारले भने चारै जना मिलेर सामूहिक बलात्कार गरेपछि हत्या गरेको भन्दै कर्तव्य ज्यान र जबर्जस्ती करणीको किटानी जाहेरी दर्ता गराएका छन् ।

भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले गरेको शव परीक्षणमा पनि संवेदनशील अंगमा गम्भीर चोट लागेर अत्यधिक रक्तस्राव भएको पुष्टि भएको छ । तर, परिवारले घटनाको वास्तविक तथ्य लुकाएर दोषीलाई उन्मुक्ति दिन खोजिएको आशंका गर्दै सत्यतथ्य बाहिर नआएसम्म शव बुझ्न इन्कार गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार अहिले अनुसन्धानको सुई प्राविधिक प्रमाणतर्फ सोझिएको छ । प्रहरीले पीडित र आरोपितहरूका मोबाइलसहितका विद्युतीय सामग्री र इनिशाको भ्याजाइनल स्वाबलाई परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको छ । त्यस्तै, नेपालगञ्जबाट आएको पोलिग्राफ टोलीले नियन्त्रणमा रहेका चारै जना बालकहरूको बयानको आधिकारिकता जाँच गरिरहेको छ ।

प्रयोगशालाको टक्सिकोलोजिकल र बायोसेरोलोजिकल रिपोर्ट आएपछि मात्रै मृत्युको वास्तविक ‘क्लु’ फेला पर्ने प्रहरीको विश्वास छ । सीसीटीभी फुटेजमा इनिशा र मुख्य आरोपित बालकसँगै जंगलतर्फ गएको देखिए पनि अन्य तीन जनाको संलग्नताको विषय अझै पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटना भएको साता दिन बित्दा पनि अनुसन्धानले ठोस आकार नलिएको भन्दै पीडित परिवार र स्थानीय आक्रोशित छन् । ‘हाम्रो छोरीको हत्या भएको हो, तर प्रहरीले रक्तस्रावको कुरा गरेर घटनालाई सामान्य बनाउन खोज्दै छ’ –मृतककी आमा तिलाले न्यायको गुहार गर्दै भन्नुभयो ।

निष्पक्ष छानबिन र दोषीमाथि हदैसम्मको कारबाहीको माग राख्दै परिवारले शवगृहमा रहेको शव बुझ्न नमान्दा अस्पताल परिसरमा तनावपूर्ण वातावरण कायमै छ । एकातिर वैज्ञानिक अनुसन्धानको जटिल प्रक्रिया र अर्कोतिर न्यायका लागि परिवारको अडानले यो प्रकरण अहिले सुर्खेतकै सबैभन्दा चर्चा र दबाबको विषय बनेको छ ।