ग्लोबल आइएमई बैंकमा ‘नन–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ’ विभाग सुरु


काठमाडौँ ।

ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई लक्षित गर्दै ‘नन–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग’ स्थापना गरेको छ। बैंकमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विभागको औपचारिक शुभारम्भ गर्नुभयो ।

नयाँ विभागमार्फत विदेशमा रहेका नेपालीलाई एकद्वार प्रणालीबाट बैंक खाता खोल्ने, कर्जा सेवा, कारोबारसम्बन्धी सेवा, पुँजी बजार तथा पोर्टफोलियो व्यवस्थापनजस्ता विभिन्न बैंकिङ सेवा उपलब्ध गराइने बैंकले जनाएको छ । विदेशमा रहेका ग्राहकले फोन, इमेल, ह्वाट्सएप वा भाइबरमार्फत पनि सेवा लिन सक्ने व्यवस्था गरिएको छ। बैंकले भविष्यमा सहायता कक्षमार्फत २४ घण्टा सेवा प्रदान गर्ने योजना पनि बनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले नयाँ विभागले विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न र स्वदेशसँग जोडिन थप सहज बनाउने बताउनुभयो । उनका अनुसार यस पहलसँगै बैंकले विदेशमा रहेका नेपालीसँग दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको छ ।

सन् २००७ मा स्थापना भएको ग्लोबल आइएमई बैंकले विश्वभर रहेका नेपालीलाई लक्षित गर्दै रेमिट्यान्स सेवा विस्तार, अन्तर्राष्ट्रिय बैंकहरूसँग सहकार्य तथा विभिन्न देशमा प्रतिनिधि कार्यालय स्थापना गर्दै आएको छ । हाल बैंकले ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गरी ३५२ शाखा, ३७९ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ। साथै बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत देशबाट रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ ।