रोल्पामा माटो खन्ने क्रममा ढिस्को खस्दा एक महिलाको मृत्यु, तीन घाइते


रोल्पा ।

रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्को खस्दा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ४९ वर्षीया निर्मला बुढाथोकीको माटो खन्दै गर्दा ढिस्कोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। गहिरो र सुरुङजस्तो खाल्डोमा माटो खन्दै गर्दा ढिस्को खसेर उनी पुरिएकी थिइन्।

घटनाबारे दिउँसो करिब साढे १२ बजे प्रहरीलाई जानकारी पुगेपछि इलाका प्रहरी कार्यालय होलेरीबाट ७ जनाको टोली घटनास्थल पुगेको थियो। उद्धार गर्ने प्रयास गरिए पनि निर्मलाको घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

घटनामा २८ वर्षीया एलिना पुन, ३८ वर्षीया शान्ति पुन र ४९ वर्षीया पार्वती पुन घाइते भएका छन्। उनीहरूको निधार, ढाड र कम्मरमा चोट लागेको छ। घाइते तीनै जनाको होलेरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

मृतकको शव पोस्टमार्टमका लागि रेउघा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। मोतीखन्ने डाँडामा सात जना माटो खन्न गएका थिए, जसमध्ये तीन जना भने सकुशल रहेको बताइएको छ।