काठमाडौ ।
दक्षिण लेबनानमा शुक्रवार राति इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। आक्रमणका क्रममा संयुक्त राष्ट्रसंघीय शान्ति सेनाअन्तर्गत रहेको युनिफिलको नेपाली बटालियन परिसर नजिक पनि गोला खसेको जनाइएको छ।
लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा इस्लामिक स्वास्थ्य प्राधिकरण र इस्लामिक रिसाला स्काउट्सद्वारा सञ्चालित आपतकालीन केन्द्र लक्षित हुँदा दुई उद्धारकर्मीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
नाबातिएह र बिन्त जबेल क्षेत्रमा भएका आक्रमणमा एक बालिकासहित ९ जनाको ज्यान गएको छ भने गाजिएह शहरमा भएको हवाई आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको छ।
मेस अल–जबालस्थित युनिफिलको नेपाली बटालियन परिसरभित्र पनि इजरायली गोला खसेको पुष्टि भएको छ। बेरुतस्थित नेपालको मानार्थ महावाणिज्य दूतावासले घटनाको कडा निन्दा गर्दै कुनै पनि नेपाली सैनिक घाइते नभएको जनाएको छ।
यसैबीच, हिजबुल्लाहले इजरायली सैन्य लक्ष्यहरू विरुद्ध प्रतिशोधात्मक रूपमा रकेट आक्रमण गरेको दाबी गरेको छ। इजरायलले भने बेरुतको दक्षिणी उपनगरहरूमा हवाई आक्रमण जारी राखेको छ, जसले सीमापार द्वन्द्व थप चर्किएको संकेत गरेको छ।












प्रतिक्रिया