दक्षिण लेबनानमा इजरायली हवाई आक्रमण : १३ जनाको मृत्यु

युनिफिलको नेपाली बटालियन नजिक पनि गोला खस्यो


काठमाडौँ ।

दक्षिण लेबनानमा इजरायलले शुक्रबार राति गरेको हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमण इस्लामिक स्वास्थ्य प्राधिकरण र इस्लामिक रिसाला स्काउट्सद्वारा सञ्चालित संयुक्त आपतकालीन केन्द्रलाई लक्षित गरिएको थियो, जसमा दुई उद्धारकर्ताको ज्यान गएको र पाँच जना घाइते भएका छन्।

नाबातिएहमा भएको अर्को आक्रमणमा एक बालिकासहित ६ जनाको मृत्यु भएको छ भने सीमावर्ती सहर बिन्त जबेलमा तीन जनाको ज्यान गएको बताइएको छ। तटीय शहर गाजिएहमा भएको हवाई आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको छ।

यसैबीच, दक्षिण लेबनानको मेस अल–जबालमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन युनिफिलको नेपाली बटालियन परिसरमा पनि इजरायली गोला खसेको जनाइएको छ। बेरुतस्थित नेपालको मानार्थ महावाणिज्य दूतावासले घटनाको निन्दा गर्दै कुनै पनि नेपाली सैनिक घाइते नभएको जनाएको छ।

घटनापछि हिजबुल्लाहले इजरायली सैन्य लक्ष्यहरूमा रकेट प्रहारसहित प्रतिशोधात्मक कारबाही गरेको दाबी गरेको छ। उता इजरायलले बेरुतको दक्षिणी उपनगरहरूमा पनि थप हवाई आक्रमण सुरु गरेको बताइएको छ, जसले सीमापार द्वन्द्व थप चर्किएको संकेत दिएको छ।