अब आधा सिलन्डिर ग्यास


काठमाडौं ।

बजारमा एलपी ग्यासको असामान्य माग बढेपछि नेपाल आयल निगम ले अस्थायी रूपमा आधा परिमाणमा ग्यास बिक्री गर्ने निर्णय गरेको छ । निगमले जारी गरेको सूचनाअनुसार शुक्रबारदेखि अर्को निर्णय नभएसम्मका लागि खाना पकाउने एलपी ग्यास सिलिण्डरमा ७.१ किलोग्राम मात्र ग्यास भरेर वितरण गरिनेछ। उक्त परिमाणको ग्यासको मूल्य ९ सय ५५ रुपियाँ तोकिएको छ।बजारमा ग्यास अभावको आशंका बढ्दै गएको अवस्थामा बिहीबार बसेको निगमको बैठकले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन यस्तो निर्णय गरेको हो ।

पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा ग्यास लिन जाने उपभोक्ताको भीड बढेको देखिएको छ। विशेषगरी बालाजु औद्योगिक क्षेत्र आसपासका डिलरहरूमा सिलिण्डर भर्न लामो लाइन देखिन थालेको छ । निगमले नियमित रूपमा मागअनुसार ग्यास आयात भइरहेको दाबी गर्दै आए पनि सर्वसाधारणले करिब दुई–तीन महिनादेखि ग्यास प्राप्त गर्न कठिनाइ झेलिरहेका छन्। निगमका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा ग्यासको माग अस्वाभाविक रूपमा बढ्नुका साथै आवश्यकता भन्दा बढी ग्यास भण्डारण गर्ने प्रवृत्ति बढेकाले वितरणमा समस्या देखिएको हो।

यसैबीच, नेपालमा ग्यास आपूर्ति गर्ने भारतमा पनि एलपी ग्यासको उपलब्धता घट्दै गएको खबर सार्वजनिक भएपछि उपभोक्तामा त्रास बढेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँ घरेलु ग्यास सिलिण्डर रिफिल बुकिङको न्यूनतम अवधि २१ दिनबाट बढाएर २५ दिन पु¥याइएको छ । नेपालले प्रयोग गर्ने अधिकांश पेट्रोलियम पदार्थ र एलपी ग्यास भारतबाट आयात गर्दै आएको छ ।

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा पनि दबाब परेको बताइएको छ। विशेषगरी तेल ढुवानीको प्रमुख मार्ग मानिने क्तचबष्त या ज्यचmगश वरिपरि देखिएको अवरोधले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य र आपूर्तिमा असर पारेको छ । भारतले हाल एलपी ग्यास मुख्य रूपमा साउदी अरेयिबा, युनाइटेड अरब इमिरेट्स, कतार बाट आयात गर्दै आएको छ। यी देशहरूबाट भारतमा आउने ग्यासको हिस्सा करिब ९० प्रतिशत रहेको बताइन्छ।

निगमले यस्तो परिस्थितिमा उपभोक्ताले आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ। साथै वितरण प्रणालीलाई व्यवस्थित बनाउन र सबै उपभोक्तासम्म ग्यास पुग्ने वातावरण बनाउन अस्थायी रूपमा आधा परिमाणमा बिक्री गर्ने निर्णय गरिएको स्पष्ट पारेको छ ।