२०२६ विश्वकप इरानले भन्यो सहभागिता हुने अवस्था छैन


लन्डन, (एजेन्सी) ।

इरानका युवा तथा खेलकुद मन्त्री अहमद डोन्यामालीले भने कि इरानले २०२६ को विश्वकपमा सहभागिता हुने अवस्थामा छैन । बुधबार मात्रै पनि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अमेरिकामा स्वागत गर्ने बताएका थिए ।

डोन्यामालीले आईआरआईबी स्पोर्ट्स नेटवर्कमा सो कुरा बताएका थिए । उनले बताए—भ्रष्ट सरकारले हाम्रो नेतालाई मारेको छ । हामी यस्तो अवस्थामा विश्वकपमा सहभागिता जनाउने स्थितिमा छैनौं । हाम्रा केटाहरू सुरक्षित पनि हुने छैनन् ।
उनले थपे–पछिल्लो ८, ९ महिनामा दुई युद्ध हुँदा हजारौं इरानीहरू मारिए र सहिद भइसके । त्यसैले हाम्रो सहभागिताका लागि संभव हुने छैन ।

अमेरिका र इजरायलले इरानमा आक्रमण गरेदेखि नै इरानको सहभागितामा शंका उब्जेको थियो । सो आक्रमणमा परी इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको निधन भएको थियो । यसपछि इरानले मध्य पूर्वमा रहेका छीमेकी देशहरूमा रहेको अमेरिकाको सैनिक क्याम्पहरूमा आक्रमण ग¥यो । यसले गर्दा मध्य पूर्वमा तनाव सिर्जना भएको छ ।

इरानको खेलहरू
इरानले अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने २०२६ विश्वकपमा समूहमा तीन खेल खेल्ने कार्यक्रम रहेको छ । पहिलो खेल लस एन्जेल्समा न्युजिल्यान्डसँग जून १५ मा खेल्नेछ । लस एन्जेल्समै जून २१ मा इरानले बेल्जियमको सामना गर्नेछ । इजिप्टसँगको खेल भने सिटलमा हुनेछ । यो खेल जून २६ मा हुनेछ ।