पुल्चोकमा मेटलाइफ नेपालको नयाँ प्रधान कार्यालय उद्घाटन


मेटलाइफ नेपालले ललितपुरको पुल्चोकस्थित सिग्नेचर टावरमा आफ्नो नयाँ प्रधान कार्यालय उद्घाटन गरेको छ।

नेपाली परिवारलाई वित्तीय सुरक्षा र संरक्षण प्रदान गर्दै आएको २४ वर्षको यात्रामा यो कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताइएको छ। आधुनिक पूर्वाधार, एकीकृत प्रविधि प्रणाली तथा सहकार्यलाई प्रोत्साहन गर्ने कार्यस्थल संरचनासहित निर्माण गरिएको नयाँ कार्यालयले कार्य सञ्चालनलाई अझ प्रभावकारी बनाउनुका साथै ग्राहकलाई छिटो, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नयाँ प्रधान कार्यालय भौतिक विस्तार मात्र नभई ग्राहकसँगको अन्तरक्रियामा विश्वास, पारदर्शिता र द्रुत सेवाप्रतिको संस्थागत प्रतिबद्धताको प्रतीक पनि हो। नवप्रवर्तन र ग्राहक–केन्द्रित सेवामार्फत देशभरका परिवारहरूमा वित्तीय आत्मविश्वास सुदृढ बनाउँदै नेपालको बीमा क्षेत्रको विकासमा योगदान पुर्‍याउने उद्देश्य कम्पनीले लिएको छ।

उद्घाटन समारोहमा संयुक्त राज्य अमेरिकाको दूतावासका कार्यवाहक प्रमुख स्कट अर्बोम, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। साथै मेटलाइफका एसिया क्षेत्रीय अध्यक्ष लिन्डन ओलिभर र वरिष्ठ उपाध्यक्ष तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनाम प्रमुख एलेना बुटारोभा पनि कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा नियामक निकाय, अमेरिकी दूतावास, साझेदार बैंकहरू, लघुवित्त संस्थाहरू, मेटलाइफको व्यवस्थापन टोली तथा एजेन्सी प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।