काठमाडौं ।
मध्यपूर्व क्षेत्रमा युद्ध चर्किरहेका बेला रुस र अमेरिकाबीच उच्चस्तरीय वार्ता सुरु भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दूत किरिल दिमित्रिएभले अमेरिकी वार्ताकारहरूसँग भएको भेटलाई ‘फलदायी’ भएको बताएका छन्। इरानसँग सम्बन्धित युद्ध सुरु भएपछि मस्को र वासिङ्टनबीच भएको यो पहिलो प्रत्यक्ष वार्ता मानिएको छ।
फ्लोरिडामा भएको उक्त छलफलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वैश्विक दूत स्टिभ विटकफ, ट्रम्पका ज्वाइँ जारेड कुशनर तथा ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार जोश ग्रुएनबाम सहभागी भएको बताइएको छ।
दिमित्रिएभले सामाजिक सञ्जाल एक्समार्फत उनीहरूलाई धन्यवाद दिँदै बैठक सकारात्मक र फलदायी रहेको उल्लेख गरेका छन् । उनले ‘स्टिभ, जारेड र जोशसँग भएको बैठकका लागि धन्यवाद, छलफल निकै फलदायी रह्यो’ भन्दै पोस्ट गरेका थिए।
यसअघि विटकफले पनि दुवै पक्षका टोलीहरूले विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेको र आगामी दिनमा सम्पर्क कायम राख्ने सहमति भएको बताएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन वार्ता गरेका थिए। त्यसपछि ट्रम्पले पुटिन मध्यपूर्वको युद्धसँग सम्बन्धित विषयमा ‘सहयोगी’ हुन इच्छुक देखिएको बताएका थिए।
फ्लोरिडाको बैठक त्यतिबेला भएको हो जतिबेला अमेरिका केही दिनअघि मात्रै रुसी तेलमाथि लगाइएका केही प्रतिबन्ध हटाउने निर्णयमा पुगेको थियो। रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि वासिङ्टनले ती प्रतिबन्ध लगाएको थियो। अहिले मध्यपूर्वमा युद्धका कारण ऊर्जा बजार अस्थिर भइरहेका बेला यस्तो निर्णय आएको विश्लेषण गरिएको छ।
बैठकपछि दिमित्रिएभले वासिङ्टनले रुसी तेलको महत्त्व अझ स्पष्ट रूपमा बुझ्न थालेको टिप्पणी गरेका छन् । उनका अनुसार दुवै पक्षले द्विपक्षीय सम्बन्ध सुधार गर्ने सम्भावना तथा विश्व ऊर्जा बजारमा देखिएको सङ्कट समाधान गर्न सक्ने परियोजनाबारे पनि छलफल गरेका छन्।
टेलिग्राममा लेख्दै उनले विश्व अर्थतन्त्रको स्थिरतामा रुसी तेल र ग्यासको महत्वपूर्ण भूमिका रहेको धेरै देशहरूले अहिले बुझ्न थालेको उल्लेख गरेका छन् । साथै रुसविरुद्ध लगाइएका प्रतिबन्ध प्रभावकारी नभएको र त्यसले नकारात्मक असर पारिरहेको बुझाइ पनि विस्तारै बढिरहेको उनले बताए।











प्रतिक्रिया