हेटौंडा ।
हेटौंडाबाट करिब ४५ किमी पर बिकटमा रहेको पालिकामा पहिलो पटक अस्पताल स्थापना भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बुधवार अस्पताल उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले कैलाश गाउँपालिकास्थित वीपी स्मृति कैलाश आधारभूत अस्पताल उद्घाटन गर्नुभएको छ ।
संघीय सरकारको ६ करोड ५८ लाख ९९ हजार १ सय ७६ रुपियाँ लगानीमा स्थापना भएको अस्पतालको मुख्यमन्त्री बानियाँले उद्घाटन गर्नुभएको हो । अस्पताल २०७८ जेठ २७ गते निर्माण सम्झौता भइ २०८२ असारमा निर्माण सम्पन्न भएको थियो । अढाई तले अस्पताल भवनमा १० बेड छन् ।
अस्पतालमा २ चिकित्सकसहित २२ जनाको दरबन्दी छ । अस्पतालमा ५ जना स्टाफनर्स, २ जना अनमी, ३ जना हेल्थ असिष्टेन्ट, २ जना अहेव, १ जना कविराज, १ जना ल्याब टेक्निसियन, १ जना रेडियोग्राफर, १ जना फार्मेसी सहायक, १ जना डेन्टल हाइजेनिक, १ जना नासु, २ जना कार्यालय सहयोगी, १ जना सरसफाइकर्मी र १ जना सुरक्षाकर्मी छन् । तर, हालसम्म स्वास्थ्य चौकीको दरबन्दीमात्र रहेको स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले बताउनुभयो ।
अस्पतालमा इमर्जेन्सी सेवासहित स्त्रीरोग, बालरोग, दन्तरोग, छाला रोग, आयुर्वेद, आँखाजाँच, प्रयोगशाला, भिडियो एक्सरे, ईसीजीलगायत सेवा उपलव्ध हुने जनाइएको छ । अस्पताल स्थापनापछि कैलाश गाउँपालिकाका १० वटै वडा र राक्सिराङ गाउँपालिकाको वडा नम्बर–४ र ९ का बासिन्दा लाभान्वित हुने पालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिनुभयो ।
जिल्लाकै दुर्गम पालिकामध्येको एक कैलाश स्वास्थ्य सुविधामा पछि परेको पालिका हो । यसका स्थानीय उपचारका लागि सदरमुकाम हेटौंडा र मनहरी बजार पुग्नुपर्ने बाध्यता रहेकोमा अब स्थानीयस्तरमा अस्पताल स्थापना भएपछि स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि हुने पालिका उपाध्यक्ष बालकुमार मल्लठकुरीले बताउनुभयो ।
जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर घलानले गाउँमै सञ्चालित अस्पतालबाट सेवा लिन आग्रह गर्नुभयो । गाउँघरमा उपचारबाट बञ्चित नहोस् भन्ने हेतुले स्थानीय तहमा गाउँघर क्लिनिक सञ्चालन भए पनि ठूला वा जटिल रोगको उपचार अस्पतालबाट गरिनुपर्ने उहाँको माग छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर प्रमुख किरण श्रेष्ठले अस्पतालन सञ्चालनका लागि कार्यालयका तर्फबाट आवश्यक समन्वय र सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।











प्रतिक्रिया