प्रतिनिधिसभा सदस्यले ५ वर्ष यी काम नगर्ने


हेटौंडा ।

 यसअघिका निर्वाचन जितेकाहरुले ५ वर्षसम्म यी काम गर्नेछु भनेर प्रतिबद्धता जनाउँदै आएकोमा यस पटक भने मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले ५ वर्षभित्र आफूले नगर्ने कार्यको प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

२५ वर्षीय सांसद उप्रेतीले आफ्नो कार्यकालभरि विधिको शासन र सुशासन कायम गर्ने प्रतिबद्धता जनाउँदै आफूले ‘५ वर्षसम्म आत्मसात् गर्ने कार्यहरु’ उल्लेख गरिएको सार्वजनिक प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सांसद् उप्रेतीले हस्ताक्षर गरेको प्रतिबद्धतापत्रमा राजनीतिलाई सेवाका रुपमा ब्याख्या गर्दै विभिन्न कुराहरु नगर्ने र गराउन नदिने संकल्प गरिएको छ । उहाँका अनुसार जागिर, सरुवा वा बढुवाका लागि नातागोता वा राजनीतिक पहुँचका आधारमा सिफारिस नगर्ने, अवसरको वितरण क्षमता र योग्यताका आधारमा मात्र हुने, विद्यालय वा क्याम्पसमा भर्ना तथा छात्रवृत्तिका लागि कुनै प्रकारको राजनीतिक दबाब वा भनसुन नगर्ने, ट्राफिक नियम उलंघन वा अन्य कुनै पनि आपराधिक कार्यमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिलाउन सोर्सफोर्स वा सिफारिस प्रयोग नगर्ने र ‘कानुनभन्दा माथि कोही हुँदैन’ भन्ने मान्यता आत्मसात गरिनेछ ।

महिला, दलित, यौनिक अल्पसंख्यक वा सीमान्तकृत समुदायमाथि हुने हिंसा र ज्यादति ढाकछोप नगर्ने र पीडितलाई न्याय दिलाउन सधैं अग्रपंक्तिमा रहने, सरकारी ठेक्कापट्टा वा टेन्डर प्रक्रियामा कुनै पनि अनुचित प्रभाव नपार्ने र त्यसलाई पूर्णतः पारदर्शी बनाउने, विश्वविद्यालय र प्रज्ञा प्रतिष्ठान जस्ता प्राज्ञिक संस्थाहरुमा राजनीतिक नियुक्ति र हस्तक्षेपको अन्त्य गर्ने, सचिवालय र परिवारबाट हुनसक्ने कुनै पनि अनुचित लाभ वा कामलाई पूर्णतः निषेध गर्ने, नागरिकता, लाइसेन्स र राहदानी जस्ता सरकारी सेवाहरुमा बिचौलिया प्रवृत्ति अन्त्य गरी नीतिगत तहबाट छिटो र छरितो बनाउन पहल गर्ने र विकास बजेटको वितरण पहुँचका भरमा नभई आवश्यकता र समानुपातिक आधारमा गर्ने उहाँको प्रतिबद्धता छ ।

कार्यक्रममा सांसद उप्रेतीले भन्नुभयो–तपाईंहरुले दिनुभएको अमूल्य मत मेरो सबभन्दा ठूलो जिम्मेवारी हो । व्यक्तिगत खुशीका क्षणहरुमा समय अभावले उपस्थित हुन नसके पनि तपाईंहरुको दुःख, विपद् र अप्ठ्यारोमा म सधैं सँगै रहनेछु । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित उप्रेतीको यस शैलीलाई स्थानीयले राजनीतिक शुद्धीकरणको सकारात्मक सुरुवातका रुपमा लिएका छन् ।